दाङ, २ वैशाख । जन्ती बोकेर दाङतर्फ आउँदै गरेको बसको ढोकाबाट खसेर रोल्पाका एक जना युककको मृत्यु भएको छ । बसको ढोकाबाट खसेर रुण्टीगढी गाउँपालिका–७ धावाङ घर भएका २२ वर्षीय ओपीलाल घर्तीको बिहान मृत्यु भएको छ ।
रोल्पा प्रहरीका अनुसार बान्द्रेबाट दाङतर्फ जाँदै गरेको रा १ ख ३१८६ नम्बरको जन्ती बोकेको बसको ढोकाबाट खसेर रुन्टिगढी–७ धवाङ निवासी घर्ती गम्भीर घाइते हुनुभएको थियो । उहाँको टाउकोमा गहिरो चोट लागेको थियो ।
गम्भिर घाइते घर्तीलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी धवाङकै २३ वर्षीय नबिन खड्का सामान्य घाइते हुनुभएको छ । उहाँ प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारपछि डिस्चार्ज हुनुभएको छ । २७ वर्षीय धन बहादुर घर्तीले चलाएको उक्त बसमा सवार अन्य यात्रीहरू भने सुरक्षित रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





