२०८३ भाद्र ५ गते शुक्रवार

तुलसीपुरमा इट्टाभट्टाको पर्खाल भत्कीदा एक जना भारतीय मजदुरको मृत्यु


दाङ, २९ चैत । दाङको तुलसीपुरमा इँट्टा भट्टाको पर्खाल भत्किँदा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्  ।

आइतबार बिहान पौने सात बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ जहदागाउँस्थित सेवा इँट्टा भट्टामा काम गर्ने क्रममा अचानक इँट्टाको पर्खाल  भत्किएको हो ।

पर्खालले च्यापिएर भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तिर्थराम पासवानको मृत्यु भएको हो । पर्खालको इट्टाले च्यापिएका पासवानलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकको पहिचान उहाँको आधार कार्डका आधारमा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसप रेशम बोहराले जानकारी दिनुभयो । सोही घटनामा परी सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते हुनुभएको छ ।

उहाँलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट ग्वारखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस