रोल्पा, २२ चैत । भालुवाङ–सुलिचौर सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन । आइतबार (चैत २२ गते) बिहान करिब ८ बजेको समयमा सुनिलस्मृति गाउँपालिका–२ स्थित एक्लेपिपलमा उक्त दुर्घटना भएको हो ।
खुङ्ग्रीबाट सुलिचौरतर्फ जाँदै गरेको १८ वर्षीय साइमन सेन ठकुरीले चलाएको रा ६ प ५५२७ नम्बरको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको २७ वर्षीय मनोज मरमथानीले चलाएको रा ३ प १०१७ नम्बरको आर १५ मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रा ३ प १०१७ नम्बरका चालक रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ महेन्द्रीका मनोज मरमथानीको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा निधन भएको हो ।
यस्तै, अर्का चालक सुनिलस्मृति–२ माडिचौरका १८ वर्षीय साइमन सेन ठकुरी र सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय अर्पण शाह ठकुरीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।
उनीहरूको टाउको र हातखुट्टामा गम्भीर चोट लागेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित प्रा.लि. अस्पतालमा रिफर गरिएको छ ।
पल्सर मोटरसाइकलकै पछाडि सवार १६ वर्षीय हिमाल चन्द ठकुरीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


