२०८३ असार ७ गते आइतवार

आँखा स्वास्थ्यको विकासका लागि सांसद शाहको प्रतिवद्धता


दाङ, ४ चैत । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य अभिषेक प्राताप शाहलाई बधाई ज्ञापन गरेको छ ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज अस्पतालमा एक कार्यक्रमको आयोजना गरि कपिलबस्तु जिल्ला क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय अभिषेक प्राताप शाहलाई बधाई ज्ञापन गरिएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल प्रशासन समितिका संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित शाहलाई नेपाल नेत्रज्योति संघ, अस्पताल व्यवस्थापन समिति, चिकित्सक,कर्मचारीहरुले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै कपिलबस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शाहले जनताको समस्या र आवाज संसद्मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जनताको समस्या नजिकबाट बुझेको भन्दै ती मुद्दालाई संसद्मा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।

स्वास्थ्य शिक्षाका साथै विकासका लागि आफुले विगत देखि काम गदै आएको र अवपनि गर्ने उहाँको भनाई थियो । ‘म हिजोपनि संविधान सभाको सदस्य, सांसद भए मैले हिजो पनि जनताको पक्षमा काम गरे अव पनि गर्ने छु – शाहले भन्नुभयो–‘सांसद शाहले आफु यहाँका आँखा अस्पतालसंग नजिक भएको र आँखा स्वास्थ्यको विकास विस्तारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेँ । मैले आँखा अस्पतालमा हिजोपनि सहयोग गदै आएको छु भोलि पनि सहयोग गर्नेछु म सांसद हुँदाहोस नहुँदा पनि जनता संग संगै छु ।’

उहाँले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले छिमेकी राष्ट्र देखि यहाँका जनतालाई सर्वसुल्भ सेवा दिएको भन्दै आफ्नो सहयोग जहिले पनि रहने बताउनुभयो ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शाहले कपिलबस्तुको बहादुरगञ्जमा रहेको आँखा अस्पताललाई सुविधा सम्पन्न गराउदै देश विदेशका जनताले विशिष्टकृत सेवा लिने अस्पतालको रुपमा विकास गर्न आफ्नो पहल हुने बताउनुभयो । ‘अहिलेको सरकारले कस्तो नीति र बजेट कति दिनेहो त्यो भविष्यको कुराहो तर म आँखा स्वास्थ्यको विषयमा जानकारछु मैले आफ्नो क्षेत्रबाट सहयोग गर्ने छु – शाहले भन्नुभयो ।’

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवा देशभर प्रवाह गरेर राज्यको दायित्व पुरा गरेको बताउनुभयो ।

उहाँले आँखा स्वास्थ्य सेवाको विषय र विस्तारका लागि सरकारको पनि सहयोग आवश्यक रहेको बताउनुभयो । ‘हामीहरुले एउटा मुनाफा रहित परोपकारी संस्था नेपाल नेत्रज्योति संघमार्फत दातृनिकायहरु संग सहयोग लियर देश विदेशका नागरिकलाई सेवा प्रवाह गरि रहेका छौ, राज्यले पनि अव सहयोग गर्नुपर्छ ’– केन्द्रिय सदस्य गिरीले भन्नुभयो ।

उहाँले विगत देखिनै सांसद शाहले अस्पताललाई सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग आवश्यक रहेको बताउनुभयो । ‘अन्धोपन न्यूनिकरणका लागि हामीहरुले सञ्चालन गरेका अस्पतालको भुमिका महत्वपूर्णछ यसमा तपाईहरुको पनि ठुलो साथ सहयोग छ, अवपनि रहने छ भन्नेमा हामीहरुले विश्वास लिएका छौ – गिरीले भन्नुभयो ।’

उहाँले नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य शाहलाई कार्यसफताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका उपभापति रेशमबहादुर खड्का, सचिव घनश्याम सुवेदी वरिष्ठ, नेत्रविशेषज्ञ डा. सुलक्ष्मी कटुवाल, प्रमुख प्रशासक डा. सम्शेर थापा,कार्यक्रममा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्मालगायतले आँखा स्वास्थ्यको विकास र विस्तारका लागि सांसद शाहले सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोग आवश्यक भएको भन्दै शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस