२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुर उमनपाको सार्वजनिक सुनुवाइ : छाडा पशुको व्यवस्थापनदेखि विकास बजेट खर्चबारे प्रश्न

दाङ, २ चैत । तुलसीपुरमा छाडा पशुचौपायाको व्यवस्थापनमा जोड दिन स्थानीयले तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गरेका छन् । उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले छाडा पशुचौपायाको व्यवस्थापन नहुँदा सास्ती पाएको गुनासो गरेका छन् ।

तुलसीपुर–७ गणेशपुरका डिल्लीराज भण्डारीले छाडा पशु चौपायाको व्यवस्थापन नहुँदा किसानले ठुलो क्षति बेहोर्नुपरेको बताउनुभयो । सहभागीले भूस्याह कुकुरको व्यवस्थापनलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् । भूस्याह कुकुरको बिगिबिगी बढ्दा निकै समस्या रहेको सुधिर केसीले बताउनुभयो ।

तुलसीपुर–६ का बच्चुराम नेपालीले कार्यालयको भवन अपांगमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । सहभागीले प्लाष्टीकको प्रयोगलाई घटाउनुपर्ने, फोहोर प्लाष्टिकको व्यवस्थापनमा चासो दिनुपर्ने, स्थानीय मल बिउ उत्पादनमा जोड दिनुपर्ने, सुचना प्रणाली व्यवस्थित बनाउनुपर्ने, विकास बजेट खर्च बढाउनुपर्ने, ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउनुपर्ने बताएका छन् ।

यस्तै, कार्यक्रममा सहभागी खेमराज विश्वकर्मा, खेतुप्रसाद भण्डारी, लोकमणी पन्थी, देवा डाँगी, पद्मा कँडेल लगायतले रासायनिक मलको सहज आपुर्ति हुनुपर्ने, राजश्व संकलनको दायरा बढाउनुपर्ने, प्लास्टिकको प्रयोग नियन्त्रण, फोहोर व्यवस्थापन, स्थानीयस्तरमा मल र बीउको उत्पादनमा वृद्धि, सूचना प्रणालीको व्यवस्थापन र विकास बजेटको खर्च गर्ने क्षमता बढाउनुपर्ने धारणा राखेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दुई वटा गौशालामा छाडा पशुको व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले स्थानीय भन्दा पनि बाहिरबाट आउने छाडा पशुको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले छाडा कुकुरको व्यवस्थापनका लागि कान्जीहाउसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । छाडा कुकुरका कारण गतवर्ष किसानले क्षति बेहोर्नुपरेको स्मरण गर्दै वडा वडामा कान्जीहाउस बनाउन आम नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले लोक कल्याणकारी सुचना प्रकाशन तथा प्रशारणमा स्थानीय संचारमाध्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

कृषि शाखा प्रमुख कुलराज चौधरीले जेन्जी आन्दोलनका क्रममा किसानको विवरण राखेका फाइलहरु जलेका कारण काम गर्न समस्या भएको बताउनुभयो । उहाँले किसानलाई आवश्यक मूल बिउ सहुलियत दरमा विभिन्न समयमा वितरण गरिरहेको बताउनुभयो । बागेश्वरी असल शासन क्लब बाँकेले कार्यक्रमको सहजीकरण गरेको हो ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस