तुलसीपुर, ३० फागुन ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काले विद्यार्थीको शैक्षिक सुधार र भविष्य निर्माणका लागि विद्यालय मात्र नभई अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभएको छ ।
तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले शनिबार आयोजना गरेको ‘अभिभावक शिक्षा कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मेट्रो होटलमा आयोजित कार्यक्रममा बोल्दै खड्काले बच्चाको भविष्य निर्माण गर्नु विद्यालय र अभिभावक दुवैको साझा दायित्व भएको बताउनुभयो । उहाँले घरमा अभिभावकले दिने समय, माया र अनुशासनले विद्यार्थीको जीवनमा गहिरो प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एमकान्त खरेलले विद्यालय र अभिभावकबीचको निरन्तर संवाद र सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने धारणा राख्नुभयो ।
यस्तै, ग्लोबल सर्टिफिकेसनका आईएसओ प्रमुख सूर्य केसीले गुणस्तरीय शिक्षाका लागि विद्यालयले नवीन अभ्यास र सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै नैतिकता र जीवन उपयोगी सीप सिकाउन अभिभावकको साथ अपरिहार्य रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक केशर बुढाथोकीले एक बालकले आमालाई लेखेको मार्मिक चिठी वाचन गर्दा सहभागी अभिभावकहरू भावुक बनेका थिए ।
कार्यक्रममा मुख्य प्रशिक्षक रवि किरणले बालबालिकाको मनोविज्ञान, अभिभावकको जिम्मेवारी र घरको वातावरणले उनीहरूको भविष्यमा पार्ने प्रभावका विषयमा विशेष प्रशिक्षण दिनुभएको थियो । म्युजिक गुरु राजेन्द्र दाहालको शब्द तथा संगीतमा विद्यार्थीहरूले गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
एकेडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाँले गर्नुभएको हो ।


