दाङ, ११ फागुन ।
पोखराबाट काठमाडौं जाँँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे १ बजेतिर ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी हालसम्म मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।
रातिको दुर्घटना भएकोले उद्धार कार्यमा कठिनाइ भएको छ । मृतकको पहिचान हुन नसके पनि चार महिला र १३ पुरुष रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयले मध्यरातदेखि नै उद्धारमा सक्रियता देखाएका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।


