२०८३ भाद्र ९ गते मङ्गलवार

महाशिवरात्रिमा तुलसीपुर नगर जेसिजद्वारा स्वास्थ्य सहायता कक्ष स्थापना

दाङ, ३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा तुलसीपुर–१२ स्थित शितलपुर मन्दिरमा दर्शनार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तुलसीपुर नगर जेसिजले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

मन्दिरमा लाग्ने मेला र भक्तजनहरूको भिडमा आउन सक्ने सम्भावित स्वास्थ्य समस्याहरूलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले उक्त कक्ष सञ्चालनमा ल्याइएको हो ।

तुलसीपुर नगर जेसिजका कार्यवाहक अध्यक्ष जेसी सागर न्यौपानेको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सहायता कक्षको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सामाजिक संस्थाहरूले यस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा गर्ने सेवामूलक कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रम संयोजक जेसी सनद देवकोटाका अनुसार, मेला भर्न आउने दर्शनार्थीहरूमा देखिन सक्ने सामान्य चोटपटक, रिंगटा लाग्ने, प्रेसरको समस्या वा अन्य आकस्मिक स्वास्थ्य अवस्थाका लागि प्राथमिक उपचार सेवा प्रदान गरिनेछ ।

जेसिजले हरेक वर्ष विभिन्न पर्व र सार्वजनिक समारोहहरूमा मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । शितलपुर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेकाले स्वास्थ्य सहायता कक्षमा प्राविधिक टोलीसहित प्राथमिक औषधिहरूको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस