दाङ २३,माघ । दाङमा सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने भएको छ । जिल्लाका १० वटै पालिकामा दुई चरणमा गरेर ७ हजार ८ सय ३७ जना किशोरीलाई एचपिभि खोप दिन थालिएको हो ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङका अनुसार कक्षा ६ मा अध्ययन गर्ने बालिका, विद्यालय नगएका १० वर्ष उमेर समुहका बालिका, अघिल्लो वर्ष छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालिका र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरसमुहका बालिकालाई खोप दिन थालिएको हो ।
स्वास्थ्य कार्यालयको बिहिबार आयोजनामा माघ २५ गतेदेखि दुई चरणमा एचपिभी खोप सञ्चालन हुने भएको छ । पहिलो चरणमा माघ २५ गतेदेखी २७ गतेसम्म घोराही उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती गाउँपालिका,गढवा र राजपुर गाउँपालिका भित्र तोकिएका केन्द्रहरुमा खोप लगाउने र सो समयमा छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गते तुलसीपुर उपमहानगरपालिकासहित, बबई गाउँपालिका, शान्तीनगर, दंगीशरण र बंगलाचुली गाउँपालिका भित्र तोकिएका खोप केन्द्रमा खोप लगाउने र छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म खोप लगाउन सकिने छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार एचपिभि भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर तथा यौन सम्पर्कबाट सर्ने समस्याबाट बच्न यो खोप अत्यन्त उपयोगी छ ।


