२०८३ साउन ३ गते आइतवार

दाङ भ्याली मावि तुलसीपुरमा सहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता


दाङ, १६ माघ ।
दाङ भ्याली मावि तुलसीपुरमा सहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । कक्षा १२ विज्ञान समूहको आयोजनामा ‘देश विकासमा विद्यार्थीको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक शीला अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा कक्षा १० का विद्यार्थी लोकराज घर्तीले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो ।

त्यसैगरी कक्षा १२ का चित्र प्रसाद भण्डारीले द्वितीय र ऋतु चौधरीले तृतीय स्थान प्राप्त गर्नुभयो । यस्तै उत्सव शाहू र सन्ध्या परियारले सान्त्वना स्थान हासिल गर्नुभएको हो ।

कार्यक्रममा विद्यार्थीहरूले देशको परिवर्तन र विकासमा आफ्नो जिम्मेवारीबारे प्रभावशाली विचारहरू व्यक्त गरेका छन् । सीता वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुगन्ध बोहराले गर्नुभएको गर्नुभएको हो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रस्तुतिको मूल्याङ्कन निर्णायकहरू अनीता डाँगी र इन्द्रमणि शर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक शीला अर्यालले नेपालका पहिलो सहिद लखन थापाको स्मरण गर्नुभयो ।

उहाँले देशमा प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याउन सहिदहरूले खेल्नुभएको अहम् भूमिकाको चर्चा गर्दै सहिदहरूको बलिदानले नै आजको स्वतन्त्र परिवेश सम्भव भएको धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरूलाई सहिदका सपना पूरा गर्न र देश विकासमा सक्रिय रूपमा लाग्न समेत प्रेरित गर्नुभयो ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस