दाङ, २५ पुस । विश्व जगतमा व्याप्त अज्ञानता, भ्रष्टाचार, अराजकता र बढ्दो मानसिक समस्या (डिप्रेसन तथा फ्रस्टेसन) लाई चिर्दै एक सभ्य र आध्यात्मिक समाज निर्माण गर्ने उद्देश्यका साथ दाङको तुलसीपुरमा आध्यात्मिक कार्यक्रम सुरु भएको छ ।
‘जय जीव दर्शन’ का प्रवर्तक एवं समाजसेवी उपेन्द्र पौडेलको सक्रियतामा तुलसीपुरको वीरेन्द्र चोकमा आजदेखि ‘श्रुतमय प्रज्ञा’ तथा ध्यानयोग कार्यक्रमको शुभारम्भ गरिएको हो ।
प्रवर्तक पौडेलका अनुसार वर्तमान समयमा मानिस भौतिक सुखसुविधामा अल्झिए पनि आन्तरिक रूपमा अशान्त र बेचैन छ । समाजमा बढ्दो अपराध र बेथितिको मुख्य जड ‘आध्यात्मिक चेतनाको अभाव’ रहेको ठहर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमले मानिसलाई मानसिक तनावबाट मुक्त गरी आध्यात्मिक ऊर्जा प्रदान गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँले बताउनुभयो । आगामी १५ दिनसम्म हुने कार्यक्रम हरेक दिन दिउँसो १२ : ०० बजेदेखि २ः०० बजेसम्म करिब २ घण्टा हुने पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रवर्तक पौडेलले ‘ज्ञान गङ्गा’ को धाराप्रवाह प्रवचनमार्फत जीवन दर्शन, ध्यानको महत्त्व र सामाजिक सद्भावका विषयमा प्रकाश पार्नुहुनेछ ।


