दाङ, १७ पुस । दाङ उपत्यकासहित तराईका अधिकांश स्थानमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । हुस्सुसंगै चलेको शितलहरका कारण जनजीवन कष्टकर बनेको छ ।
चिसोका कारण घरबाहिर काम गर्नेहरु बढी समस्यामा परेका छन् । सडक तथा भवन निर्माणमा खटिने श्रमिकहरु चिसोको मारमा छन् । हुस्सुका कारण सडकमा सवारी साधन चलाउन समेत समस्या हुने गरेको छ । विद्यालयमा साना बालबालिका पनि चिसोको मारमा परेका छन् ।
पुसको कठांग्रिदो चिसोले विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । दाङमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसोका कारण विद्यालय बन्द गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति तराईका केही स्थानमा हुस्सु लाग्नुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
तराई भूभागमा हुस्सु तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




