दाङ, १५ पुस । तुलसीपुरमा नर्सहरूलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरिएको छ । नेपाल नेत्र ज्योति संघ र राप्ती आँखा अस्पतालको आयोजना तथा एनएबीपी नर्वेको आर्थिक सहयोगमा नर्सहरूका लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम तुलसीपुरमा गरिएको हो ।
दाङ जिल्लामा दृष्टिविहीनता न्यूनीकरणमा नर्सहरूको भूमिका र स्वास्थ्य संस्थामा कार्यरत स्टाफ नर्सहरूको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो ।
राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा सहायक प्रोफेसर जलविन्दु विशेषज्ञ डा. रन्जित कुमार शाह को अध्यक्षतामा कार्यक्रम भएको हो ।
नेपाल नेत्र ज्योति संघका सह–कोषाध्यक्ष प्रणव खड्काले तालिमको उद्देश्य र दृष्टिविहीनता न्यूनीकरणमा नर्सहरूको भूमिकाबारे जानकारी दिनुभयो । तालिममा ७७ जना स्टाफ नर्सहरूले सहभागिता जनाएका थिए ।
तालिममा प्रशिक्षक बिमल घिमिरेले मोतियाबिन्दु र अन्य सामान्य आँखा रोग, निदान र रोकथाम सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेत्र विशेषज्ञ डा. सुमित पाण्डे, डा. चन्द्रशेखर शर्मा, डा. वर्षा थापा, वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादव, अस्पताल व्यवस्थापक शशि लामिछाने, लेखा प्रमुख होमबहादुर चौधरी, नेत्र ज्योति प्राविधिक शिक्षालयको लेखा तथा प्रशासन प्रमुख प्रेमा सापकोटा, नेत्र सहायक रोहित कडायत, बाह्य कार्यक्रम सह–संयोजक पूर्ण ओली लगायतको उपस्थिती रहेको थियो ।
तालिमले स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको क्षमता अभिवृद्धि गर्दै दृष्टिविहीनता न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो । स्वागत मन्तव्य नेत्र विशेषज्ञ डा. विनिता केसी ले दिनुभएको थियो ।


