दाङ, १० मंसिर । सानै उमेरमा हुने विवाह न्यूनिकरणका लागि सरोकारवालाले चासो दिएका छन् । सरोकारवालाले बालविवाहलाई न्यूनिकरणका लागि विद्यालय तहबाटै सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।
व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले बुधबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विद्यालय तहबाटै सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । बेस दाङका जिल्ला सचिव रुपलाल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले विद्यालय तहमै पुगेर बाल विवाहले पार्ने असरका बारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । समाजमा विभिन्न कारणले अहिले पनि बालविवाह रोकिन नसकेको बताउँदै उहाँले आगामी दिनमा नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले बालविवाह न्यूनिकरणका लागि अभिभावक र विद्यार्थीलाई सचेतना दिनुपर्ने बताउनुभयो ।
दंगिशरण गाउँपालिका प्रशासकिय अधिकृत यादव डाँगीले बालविवाहले पार्ने असरको विषयवस्तु पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले बालविवाह न्यूनिकरणका लागि आवश्यक कानुन बनेपनि कार्यान्वयन गर्न ऐन निर्माण हुन नसकेको बताउनुभयो । उहाँले बालविवाह न्यूनिकरणबारे स्थानीय सरकारले सिकाई आदानप्रदान गर्नुपर्ने बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालविवाह तथ्यांक कम देखिएपनि भित्राभित्रै फैलिरहेको बताउनुभयो । उहाँले तथ्यांक वास्तविकता नहुँदा काम गर्न कठिन हुने गरेको बताउनुभयो ।
बेसका लुम्बिनी प्रदेश कार्यक्रम संयोजक नर बहादुर चौधरीले बालविवाह, बाल यौन दुर्व्यवहार र बालश्रम रोकथामका लागि परियोजनाले काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरी तीन प्रदेशमा परियोजना लागु भएको छ । कार्यक्रम निर्देशक पिंकी डाँगीले स्वागत मन्तव्य राख्नुभएको हो ।


