२०८३ भाद्र १० गते बुधवार

पहिलो पटक ८ महिनाको बालकको मोतियाबिन्दुको शल्यक्रिया

दाङ, ३० भदौ । राप्ती आँखा अस्पतालमा पहिलो पटक आठ महिनाको बालकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरमा जन्मजात आँखामा मोतियाबिन्दु भएका बालकको शल्यक्रिया जनरल एनेस्थेसियामार्फत् गरिएको अस्पतालका मेसु सहायक प्रा.डा. रञ्जितकुमार साहले जानकारी दिनुभयो ।

राप्ती आँखा अस्पतालमा बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूको आँखा शल्यक्रिया जनरल एनेस्थेसियामार्फत् सुरु भएसँगै ८ महिनाको बालकको शल्यक्रिया सम्भव भएको हो । यससँगै अब बालबालिका, वृद्धवृद्धा तथा अशक्त बिरामीलाई शल्यक्रियाका लागि टाढा जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ ।

डा. साहका अनुसार, एनेस्थेसियामार्फत् धेरै बिरामीहरूले सहज रूपमा सेवा पाउँदै आएका छन् । सर्वसाधारणमा मोतियाबिन्दु वृद्धावस्थामा मात्र हुन्छ भन्ने बुझाइ भए पनि उमेर बाहेक अन्य कारणले पनि यो समस्या देखिने चिकित्सकहरूले बताएका छन् । यदाकदा बालबालिकामा पनि यो रोग देखिने गरिएको छ ।

‘राप्ती आँखा अस्पतालमा पहिलो पटक ८ महिनाको बालकको शल्यक्रिया भएको हो, यसअघि यस्तो भएको थिएन,’ डा. साहले बताउनुभयो ।

यसका साथै अस्पतालमा दैनिक रूपमा जलबिन्दु, मोतियाबिन्दु लगायत आँखासम्बन्धी विभिन्न प्रकारका शल्यक्रिया हुँदै आएका छन् । जलबिन्दु र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका डा. साह अस्पतालमा आएसँगै जलबिन्दुका बिरामीलाई पनि सहज रूपमा सेवा लिन सकिने अवस्था बनेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस