२०८३ भाद्र ११ गते बिहिवार

दाङमा सय बढी सवारी साधन जले, करोडौं नोक्सान


दाङ, २९ भदौ । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा दाङमा सयौँ सवारी साधनमा आगजनी गरिएको छ। हालसम्म एक सयभन्दा बढी सवारी साधन जलेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला समन्वय समितिका १८ वटा मोटरसाइकल र तीन वटा चार पाङ्ग्रे सवारी साधन जलेको जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, भूमि सुधार तथा मालपोत कार्यालयका चार वटा गाडीमा आगजनी गरिएको छ। सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टका अनुसार हुलाक कार्यालयको एक वटा गाडी र सडक डिभिजन कार्यालयका दुई वटा मोटरसाइकल जलेका छन् ।

त्यस्तै, कार्यालयनजिक रहेको यान्त्रिक कार्यालयको एउटा टिप्पर, एउटा पानी ट्याङ्कर र एउटा मोटरसाइकलमा समेत आगजनी गरिएको छ । सोही कार्यालयमा रहेका टेलर, एक्साभेटर, लोडर र टाटा पिकअप भ्यानमा समेत तोडफोड भएको छ ।

घोराही उपमहानगरपालिकाका नौवटा सवारी साधनमा आगजनी भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रहरीको दुई वटा भ्यानसहित तीन वटा गाडी, छ वटा मोटरसाइकल र एउटा स्कुटर जलेका छन् ।

नापी कार्यालयका दुईवटा गाडी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका २८ वटा सवारी साधनमा पनि आगजनी भएको छ । जलेका सवारी साधनमध्ये दुई वटा चार पाङ्ग्रे र ट्राफिक प्रहरीका छ वटा निजी मोटरसाइकल रहेका छन् ।

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयका नौ वटा सवारी साधनमा आगजनी भएको छ । तीमध्ये दुईवटा निजी मोटरसाइकल, एउटा चार पाङ्ग्रे गाडी, पाँच वटा मोटरसाइकल र आर्थिक मामिला मन्त्रालयको एक मोटरसाइकल रहेका छन् । प्रदेश निर्वाचन कार्यालयको एउटा गाडी तोडफोडमा परेको छ । सडक पूर्वाधार विकास कार्यालयका छ वटा गाडी र अन्य दुई गरी आठ वटा सवारी साधनमा क्षति पुगेको छ।

जिल्ला सरकारी वकिल कार्यालयको एउटा चार पाङ्ग्रे र एउटा मोटरसाइकलमा आगजनी भएको छ । दाङ जिल्ला अदालतका चार वटा गाडी तोडफोडमा परेका छन् भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अदालतका श्रेस्तेदार भूपाल भण्डारीले जानकारी दिनुभयो । यस्तै, तुलसीपुर र लमहीमा पनि दर्जनौँ गाडी जलेको पाइएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस