तुलसीपुर, ८ भदौ । दिव्य कुञ्ज एकाडेमी तुलसीपुरले तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा डिलाइट ग्रुपका सिईओ वीरबहादुर भण्डारी मोहनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिशिद्धेश्वरी यातायात समितिका अध्यक्ष तथा विद्यालय सञ्चालक सुरेश हमालले सफलता पाउन कडा मिहिनेत अपरिहार्य भएको उल्लेख गर्नुभयो । उहाँले असल कर्म गर्ने मानिस समाजमा सकारात्मक सन्देश फैलाउने भन्दै प्रेरणादायी व्यक्तिहरूसँग सहकार्यले व्यक्तिगत जीवन मात्र नभई सिङ्गो समाजलाई ऊर्जावान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
हमालले फरक प्रसङ्गमा बुबाआमा पछि शिक्षक नै बालबालिकाका असल अभिभावक भएको बताउनुभयो । उहाँका अनुसार, शिक्षकमार्फत धेरै बालबालिकाको भविष्य निर्माण भइरहेको छ । साथै, व्यवस्थापनले शिक्षक तथा कर्मचारीलाई उचित सुविधा उपलब्ध गराउँदै सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, डा. पेम योगीले गीतमार्फत तीजको शुभकामना व्यक्त गर्नुभयो । उहाँले तीजले आपसी सम्बन्ध र सामिप्यता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले महिलाको सशक्तिकरणका कारण समाजमा ठूलो परिवर्तन आएको धारणा राख्नुभयो । उहाँले शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महिलाको सक्रियता बढेको उल्लेख गर्दै “नारी र पुरुष एउटै रथका दुई पांग्रा हुन्” भन्नुुभयो ।
एनआईसी एशिया बैंक तुलसीपुरका प्रमुख तथा विद्यालय सञ्चालक राजीव वलीले तीज कार्यक्रम गीत, नृत्य र संस्कृतिको संगम बनेको बताउनुभयो । उहाँका अनुसार, यसले विद्यार्थीमा सिर्जनशीलता, उत्साह र एकताको भावना जगाउने काम गर्छ । वलीले शिक्षक आफैं सिर्जनशील बनेर विद्यार्थीलाई प्रेरणा दिनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा लायन्स क्लब अफ दाङका पूर्वअध्यक्ष तथा तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सल्लाहकार गोरख वलीले तीज पर्वलाई सभ्य ढंगले मनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, पत्रकार निराला अर्यालले पनि तीज संस्कृतिको जगेर्नासहित उत्साहपूर्ण तर संस्कारित ढंगले मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा शिक्षिकाले विविध नृत्य, गजल र कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सरला श्रेष्ठ र अंकिता ओझाले गर्नुभएको थियो ।


