दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय विज्ञान संकायतर्फ नेपाल प्रथम भएको छ । त्यस्तै, व्यवस्थापन संकायतर्फ दाङ जिल्लामा प्रथम स्थान हासिल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृष्ठ नतिजासहित नेपाल प्रथम भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिनुभयो ।

त्यस्तै, व्यवस्थापन संकायतर्फ विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिए प्राप्त गरी दाङ जिल्ला प्रथम भएका छन् । ज्ञान ज्योति सेकेन्डरी स्कूल लुम्बिनी प्रदेशलगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल हुँदै आएको छ ।
विद्यालयको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकको साथसाथै अनुशासित, लगनशील र क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।

विद्यालयले बीबीए, बीसीसीएसआईटी, बीसीए, बीएस्सी, बीबीएस र बीए संकायमा अध्यापन गराउँदै आएको छ । ज्ञान ज्योति माध्यमिक विद्यालय पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।


