दाङ, १९ साउन । असल र संस्कारयुक्त जनशक्ति निर्माणमा सरोकारवालाले चासो दिएका छन् । बढ्दो सूचना प्रविधिको प्रयोगसंगै पछिल्ल्लो समय बालबालिकामा एक्लोपन बढ्दै गएको भन्दै सरोकारवालाले असल, नैतिक र संस्कारयुक्त जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
तुलसीपुर–७ अमेल्ची नगरमा भएको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष बिष्णुबहादुर जिसीले बालबालिकालाई शिक्षासंगै संस्कार पनि दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिकामा संस्कार हराउन थालको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकाले शिक्षामा मात्रै उत्कृष्ट जिपिए ल्याएर मात्रै नहुने भन्दै संस्कार र व्यावहारिक काममा पनि उत्कृष्टता हासिल गर्नुपर्ने बताउनुभयो । आजका बालबालिकाले नै भविष्यमा परिवार र समाजको नेतृत्व गर्ने भएकाले उनिहरुलाई घर परिवार र समाजले असल संस्कार दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बालबालिकालाई अभिभावक तथा समाजले निर्णय प्रक्रिायमा सहभागी गराउनुपर्ने समेत बताउनुभयो । टोलको नियमित बैठकमा बालबालिकालाई सहभागी गराउँदा उनिहरु व्यावहारिक हुने उहाँको भनाई छ । यस्तै अमेल्ची नगर टोल विकास संस्थाका उपाध्यक्ष उत्तम केसी, सचिव खुमा गुरुङ, सल्लाहकार इन्द्र केसी, पूर्व अध्यक्ष मिना बस्याल लगायतले कार्यक्रम सुनौलो भविष्य टोलटोलमा पुर्याउनुपर्ने बताउनुभयो ।


