२०८३ भाद्र ६ गते शनिवार

बालबालिकाको असल संस्कार निर्माणमा आमाको भूमिका महत्वपूर्ण

दाङ, २८ असार । बालबालिकाको व्यक्तित्व विकास र असल संस्कार निर्माणमा आमाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । व्यवहारिक शिक्षा घरमै हुने भएकाले आमाले देखाएको व्यवहार, बोलीचाली र संस्कारले नै बालबालिकामा गहिरो प्रभाव पार्ने उनिहरुको भनाई छ ।

शनिबार तुलसीपुर–७ चाँदनी टोलमा आयोजना गरिएको कार्यक्रम ‘सुनौलो भविष्य’ नामक कार्यक्रममा शिक्षक वायुकुमार ब्राह्मणले बालकलाई अनुशासित, विनम्र र जिम्मेवार बनाउने काम आमाबाट सुरु हुने बताउनुभयो ।

उहाँले बच्चाको पहिलो पाठशाला घर नै भएको र धेरै समय आमासंगै बालबालिका रहने भएकाले आमाले बालबालिकालाई जीवनको मूल्य र नैतिकता सिकाउदा प्रभावकारी हुने बताउनुभयो ।

यस्तै दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावकसंगै समाजको पनि भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले बालबालिकाको आवश्यकता पहिचान गर्नका लागि टोलका बैठकमा पनि बालबालिकालाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले घरको वातावरण सकारात्मक बनाउँदै बालबालिकालाई संस्कारी बनाउने अभ्यासलाई निरन्तरता दिइरहनुपर्ने बताउनुभयो ।

तुलसीपुर–७ चाँदनी टोलका अध्यक्ष मनकुमारी वली रावतले आमाको असल संस्कारले नै बालबालिकामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस