२०८२ असार २५ गते बुधवार

असल र संस्कारयुक्त जनशक्ति बनाउन सबैको साझा पहल आवश्यक रहेकोमा जोड

दाङ, २० असार । बालबालिकालाई असल र संस्कारयुक्त बनाउन परिवारसंगै समाजले पनि साझा पहल लिनुपर्नेमा तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –६ गोलौराको भगवती टोलमा शुक्रबार आयोजना गरिएको ‘सुनौलो भविष्य’ नामक कार्यक्रमका सहभागीहरुले पछिल्लो समय बालबालिकामा लागूऔषध दुर्व्यसनिको समस्या बढ्दै गएकाले परिवार र समाजले साझा पहल लिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले गाउँ बाहिरबाट आएका बालबालिकाले गोलौरालाई लागूऔषध सेवन गर्ने केन्द्र बनाउन थालेकाले गाउँलाई दुर्व्यसनीमुक्त बनाउन एकल प्रयासबाट संभव नहुने बताएका छन् ।

कार्यक्रममा टोलका सचिव कौशीला सुनारले बाहिरबाट आउने लागूपदार्थ दुर्व्यसनीका कारण टोलका बालबालिका पनि दुर्व्यसनीको जोखिममा परेको बताउनुभयो ।

उहाँले लागूऔषध सेवनकर्तालाई निराकरण गर्नका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले पछिल्लो समय असल र नैतिकवान जनशक्तिको अभाव हुन थालेको बताउनुभयो । उहाँले दक्ष, असल र नैतिकवान जनशक्ति निर्माणमा घरपरिवारसंगै समाजको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।

बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भन्दै उहाँले जिम्मेवार नागरिक निर्माणका लागि परिवार र समाजले अभिभावकिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस