तुलसीपुर, १४ असार ।
शैक्षिक उत्कृष्टताको यात्रामा सधैं अग्रपंक्तिमा रहँदै आएको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले फेरि एकपटक राष्ट्रिय गौरव हासिल गरेको छ। एजुकेशन समाचारद्वारा २०८२ सालमा सार्वजनिक गरिएको देशभरका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा ज्ञान ज्योति सातौं स्थानमा पर्न सफल भएको हो।
४ हजार ७ सय ४१ विद्यालयहरूमध्येबाट भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, जनधारणा (पिपुल्स पर्सेप्सन), स्थापनाको अवधि र विद्यार्थीको नतिजा जस्ता सूचकलाई मूल्याङ्कन गर्दा विद्यालयले यो स्थान सुरक्षित गरेको हो।
विद्यालयका सीईओ सुरेन्द्र जिसीले यस सफलताको श्रेय शिक्षण विधिमा गरिएको नवीन प्रयोग, दक्ष शिक्षक, अनुशासित विद्यार्थी र जिम्मेवार व्यवस्थापनलाई दिनुभयो। उहाँले भन्नुभयो, “हामीले विद्यार्थीको क्षमता र रुचिअनुसार शिक्षण विधि अपनाएका छौं। सफलताको जरो यहीँ छ।”
लगातार उत्कृष्टतासँगै प्रगतिको कथा
गत वर्ष पनि सातौं स्थानमै रहेको ज्ञान ज्योति पछिल्ला दुई वर्षमा ४८० भन्दा बढी विद्यार्थीलाई बोर्ड परीक्षामा सहभागी गराउँदै नतिजा र प्रतिष्ठा दुवैमा अब्बल देखिएको छ। विद्यालयले पटक–पटक उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गरिसकेको छ भने २०६७ सालमै शिक्षा मन्त्रालयबाट सम्मानित भइसकेको छ।
शिक्षामा समान अवसर दिने अभियान
२०६५ सालमा स्थापना भएको विद्यालय प्रारम्भदेखि नै गुणस्तरीय, आत्मनिर्भर र समावेशी शिक्षाको पक्षमा उभिँदै आएको छ। आर्थिक अवस्था कमजोर भएका मेधावी विद्यार्थीलाई समेत शिक्षाबाट वञ्चित हुन नदिने उद्देश्य विद्यालयको पहिचान बनेको छ। हाल यो संस्था लुम्बिनी प्रदेशमा मात्र नभई पश्चिम नेपालमै एक उदाहरणीय मोडल विद्यालयका रूपमा स्थापित हुँदै गएको छ।
खेलकुद र अतिरिक्त क्रियाकलापमा समेत अग्रणी
ज्ञान ज्योति केवल पठनपाठनमै सीमित छैन। खेलकुद, कला, सांस्कृतिक कार्यक्रम र अन्य अतिरिक्त गतिविधिमा पनि विद्यालयको सशक्त उपस्थिति रहँदै आएको छ। विद्यालयले नगर, जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अनेकौं पदक र ट्रफी हात पारिसकेको छ। विद्यार्थीहरू अन्तर्राष्ट्रियस्तरसम्म पुगेर देशको प्रतिनिधित्व पनि गरिरहेका छन्।
उच्च शिक्षाको आकर्षक गन्तव्य
विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गर्दै आएको छ। साथै, स्नातक तहमा BBS, BBA, BSc, BSc CSIT, BA, BCA, BALLB र स्नातकोत्तर तहमा MBA कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ। यसले जिल्लाका विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गरेको छ।
सम्मानको लगातार यात्रा
२०६९ देखि २०७५ सम्म ‘उत्कृष्ट विद्यालय’का विभिन्न सम्मान पाउँदै आएको ज्ञान ज्योति २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा, त्यसपछि उत्कृष्ट १० मा र अहिले उत्कृष्ट ७ मा उक्लन सफल भएको हो। विभिन्न संघसंस्था र सामाजिक संस्थाबाट समेत नियमित रूपमा सम्मानित हुँदै आएको यो विद्यालय अहिले एक प्रेरणादायी शैक्षिक गन्तव्यको रूपमा परिचित हुँदै गएको छ।


