२०८३ असार २४ गते बुधवार

बालबालिकालाई घरमा पठन संस्कृतिको विकास गराउन अभिभावकलाई सचेतना


दाङ, १४ असार । बालबालिकालाई घरमै पठन संस्कृतिको विकास गराउन दाङ भ्याली मावि तुलसीपुरले अभिभावक सचेतना कार्यक्रम गरेको छ । शनिबार विद्यालयले आयोजना गरेको कार्यक्रममा मोटीभेटर भुपालसिंह रोकायाले अभिभावकलाई सचेतना प्रदान गर्नुभएको छ ।

मोटीभेटर रोकायाले अभिभावक असल व्यवहारले मात्रै बालबालिकाले शैक्षिक विकासमा प्रगति हासिल गर्ने बताउनुभयो । उहाँले बालबालिकामा पठन संस्कृतिको विकास गराउन अभिभावकले पनि बालबालिकासंगै पढ्नुपर्ने बताउनुभयो ।

‘अभिभावकले मोबाइल चलाउने तर अनि बालबालिकालाई पढ भन्ने प्रवृति आम अभिभावकमा छ । यसले बालबालिकाको पठन संस्कृतिको विकास हुँदैन् ।’ उहाँले भन्नुभयो–‘बालबालिकालाई पढाउनका लागि बरु अभिभावकले नपढेपनि किताब समातेर पढेजस्तो गर्नुपर्छ ।’

उहाँले अभिभावककै कारण बालबालिकाको संस्कार विकास हुने भएकाले नैतिकवान बालबालिका बनाउन अभिभावककै भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा दाङ भ्याली माविका अध्यक्ष तिलक शाहुले विद्यालयले संस्कारसहितको दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो । उहाँले बालबालिकाको शैक्षिक गुणस्तरमा विद्यालयसंगै अभिभावकको पनि भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिला अर्यालले बालबालिकालाई घरमै पढ्ने वातावरण नबनाउँदासम्म शैक्षिक सुधार हुन नसक्ने बताउनुभयो ।

विद्यालयमा पढ्ने बालबालिकाले घरमा नपढ्ने गरेको गुनासो आउने गरेकोमा अभिभावकले घरमा पनि बालबालिकालाई समय दिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस