
दाङ, १२ असार । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा इङ्लिस स्कुलले ‘विश्व लागू पदार्थ ओसारपसारविरुद्धको दिवस’ को अवसरमा बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयले लागूऔषध दुरुपयोगबारे सचेतना फैलाउने उद्देश्यले तुलसीपुर–१९, बिजौरी हाडेमेमा रहेको ‘नयाँ पाइला पुनस्थापना केन्द्र’मा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रियामा केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले विद्यार्थीलाई लागूऔषध दुरुपयोग के हो, यसबाट कसरी बच्न सकिन्छ र यसको प्रभाव कस्तो हुन्छ भन्ने विषयमा जानकारी दिनुभयो ।
उहाँले हाल युवाहरू विभिन्न कारण—जस्तै मानसिक तनाव, पारिवारिक समस्या, आर्थिक अभाव र गलत साथीको संगतका कारण लागूऔषध प्रयोगतर्फ आकर्षित भइरहेको उल्लेख गर्नुभयो ।
‘युवाहरूमा नकारात्मक परिवर्तनको प्रमुख कारणमध्ये एक हो लागू औषध’ भुसालले भन्नुभयो–‘हामीले अहिलेसम्म ४८३ जना आश्रित व्यक्तिहरूलाई उपचार गरी पुनःस्थापना गरिसकेका छौँ ।’
विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई बाल्यकालमै लागूऔषधको जोखिम र त्यसबाट हुने क्षतिबारे सचेत गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
विद्यालयका तर्फबाट जानकारी दिँदै कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यार्थीहरू लागूऔषधको चपेटामा पर्न थालेपछि उनीहरू मानसिक र शारीरिक रूपमा कमजोर हुने, पढाइमा पिछडिने र जीवनका लक्ष्यहरूबाट भट्किने सम्भावना बढ्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका ३० जना बढी विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले केन्द्रका आवासीय बिरामीहरूसँग पनि अनुभव साटासाट गरेका थिए ।
सगरमाथा इङ्लिस स्कुलले हरेक वर्ष सामाजिक विषयमा सचेतना फैलाउने कार्यक्रम गर्दै आएको छ । यसपटक लागूऔषध जस्तो संवेदनशील विषयमा विद्यार्थीलाई प्रत्यक्ष रूपमा पुनस्थापना केन्द्र लैजाँदै व्यावहारिक अनुभूति दिलाउने प्रयास गरिएको विद्यालयले जनाएको छ ।