२०८३ भाद्र ३ गते बुधवार

स्वस्थ जीवनका लागि योग अनिवार्य : उपकुलपति डा. नेपाल

दाङ, ८ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. धनेश्वर नेपालले स्वस्थ जीवन यापनका लागि योगलाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तुलसीपुर–१७ स्थित बेलझुण्डी रंगशालामा आयोजित ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ तथा जुम्बा डान्स’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘व्यक्ति स्वस्थ भए मात्र घर, समाज र राष्ट्र स्वस्थ रहन्छ । त्यसैले योग जीवनको आधारभूत आवश्यकता हो ।’

डा. नेपालका अनुसार योग तथा व्यायामले शारीरिक, मानसिक र संवेगात्मक सन्तुलन कायम गर्न मद्दत गर्छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमले नागरिकहरूमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। उहाँले निकट भविष्यमै नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा योगसम्बन्धी केन्द्रीय भेला आयोजना गरिने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सकारात्मक सोच र निरन्तर स्वास्थ्य अभियान आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्वस्थ जीवनका लागि डा. किशोर खत्रीको संयोजनमा हरेक शनिबार बिहान विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा प्रातःकालीन हिँडाइ तथा जुम्बा डान्स कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसअघि खर्कट्टी र राप्ती शान्ति गणेशपुर पार्कमा समेत यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् ।

कार्यक्रमको अवसरमा ४० वर्षमाथिका व्यक्तिहरूका लागि हड्डीको निःशुल्क मापन सेवा प्रदान गरिएको थियो । साथै, उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई दिलिप रिकन्डिसन हाउसका प्रोप्राइटर दीपक केसीले पुरस्कार वितरण गर्नुभयो ।

स्वस्थ समृद्ध नेपालका अध्यक्ष भूपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाकी सचिव निरला अर्यालले गर्नुभएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का र डा. लोकराज पराजुलीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस