२०८३ भाद्र ५ गते शुक्रवार

सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्थाप्रति सिलिकनको खेद प्रकट

दाङ, ८ असार। असार ६ गते दाङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्थाप्रती सिलिकन एजुकेसन दाङले खेद प्रकट गरेको छ। सिलिकन दाङले आफू कार्यक्रमको आयोजक नभएको स्पष्ट पार्दै, दर्शक, विद्यार्थी र अभिभावकमाझ खेद व्यक्त गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै संस्थाले उक्त कार्यक्रमको पूर्ण आयोजना, व्यवस्थापन र प्राविधिक पक्ष एसटिबी इभेन्टद्वारा गरिएको जनाएको छ। आफु कार्यक्रमको ‘Title Sponsor’ को रूपमा मात्र सहभागिता जनाएको र डिजिटल प्रचारप्रसारका लागि आर्थिक सहयोग गरेको उल्लेख गरिएको छ। “कार्यक्रमको सुरक्षादेखि व्यवस्थापनसम्मको जिम्मा आयोजकको नै थियो, कार्यक्रममा देखिएको ढिलाइ, भीड व्यवस्थापनको कमी तथा प्रमुख कलाकारको प्रस्तुति नहुनुजस्ता घटनाहरूको सम्पूर्ण जिम्मेवारी आयोजक STB Events कै हो।” विज्ञप्तिमा उल्लेख छ।

संस्थाले आफू पनि यस घटनाबाट पीडित भएको जनाउँदै माफीनासहित स्पष्टिकरण दिएको छ। “हामीले आफ्ना विद्यार्थी र अभिभावकलाई निमन्त्रणा गरी सकारात्मक सांस्कृतिक अनुभव दिलाउने उद्देश्य राखेका थियौं,” विज्ञप्तिमा भनिएको छ, “तर कार्यक्रमको अव्यवस्थाले हाम्रो संस्थाको प्रतिष्ठामा समेत असर पुर्‍याएको छ।”

एसटिबिको माफी : त्यस्तै, कार्यक्रमको आयोजक STB Events ले पनि माफी माग्दै उक्त घटनाप्रती दुख व्यक्त गरेको छ। आयोजकले कलाकार पूर्ण राई कन्सर्टमा उपस्थित हुन नसकेकोबारे दु:ख व्यक्त गर्दै भनेको छ।

“हामी हार्दिक माफी चाहन्छौं। केही अप्रत्याशित आन्तरिक समस्याका कारण, पूर्ण राईले आजको कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिन सकेनन् । हामी, सम्पूर्ण टोली, यसको लागि गहिरो दु:ख व्यक्त गर्दछौं र पूर्ण जिम्मेवारी लिन्छौं। हामी तपाईंको उत्साह र अपेक्षाहरू साँच्चै बुझ्छौं, र तपाईंलाई पर्न गएको असुविधाको लागि साँच्चै क्षमाप्रार्थी छौं। कृपया हामीसँग धैर्य गर्नुहोस् । हामी उचित अपडेटमा काम गरिरहेका छौं र चाँडै नै तपाईंसँग साझा गर्नेछौं।”

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस