२०८३ साउन ११ गते सोमवार

बालबालिकालाई मोबाईल निश्चित समयसम्म मात्रै चलाउनु दिनुपर्ने

दाङ, ५ असार । बालबालिकालाई मोबाइलको लतबाट छुटाउन अभिभावक जिम्मेवार बन्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । तुलसीपुर–६ मानव टोल विकास संस्थामा बिहिबार आयोजना गरिएको कार्यक्रम सुनौलो भविष्यमा सहभागी सरोकारवालाले बढ्दो प्रविधिको विकाससंगै बालबालिकामा मोबाइलको लत बस्दै गएको बताएका छन् ।

उनिहरुले बालबालिकालाई मोबाइलबाट टाढा राख्न नसकिने तर अत्याधिक प्रयोगबाट बचाउनुपर्नेमा जोड दिएका छन् । दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकालाई मोबाईल निश्चित समयसम्म मात्रै चलाउनु दिनुपर्ने बताउनुभयो । उहाँले घरमा सम्पूर्ण परिवार बैठक नै बसेर मोबाइल चलाउने समय निर्धारण गरी सम्पूर्ण परिवारले निर्णयको पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले कतिपय अभिभावकले बालबालिकालाई मोबाइल दिएर खाना खुवाउने बानी लगाएको भन्दै यस्तो कुराले बालबालिकामा मोबाइलको लत बढ्दै जाने बताउनुभयो । उहाँले बालबालिकाले मोबाइल अत्याधिक चलाउँदा घर परिवार तथा समाजसंग घुलमिल समेत हुन नसकिरहेको बताउनुभयो । बालबालिकालाई भौतिकरुपमा खेल्नका लागि खेल मैदान गराउन आवश्यक रहेको भन्दै यसका लागि घरपरिवार, टोल विकास संस्था र राज्यको भूमिका सक्रिय बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष यमकुमारी भण्डारी, स्थानीय बुद्धिजीवी बिनोद बस्नेत लगायतले बालबालिकालाई संस्कारयुक्त बनाउनका लागि घर परिवारको महत्वपूर्ण हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस