२०८२ असार २५ गते बुधवार

शिक्षक सरुवा भएको तीन महिनासम्म पनि विद्यालयमा भएनन् हाजिर


दाङ, २९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शिक्षक दरबन्दी मिलान गरी सरुवा गरेको तिन महिना पुग्नै लाग्दा पनि विद्यालयमा शिक्षक हाजिर भएका छैनन् ।

२०८१ चैत्र १० गते तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख तथा नगरस्तरीय शिक्षा समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकले २७ जना शिक्षकको सरुवासहित १० ओटा विद्यालयमा दरबन्दी मिलान गर्ने निणर्य गरेको थियो ।

शिक्षक दरबन्दी मिलान भएको तिन महिना पुग्नैलाग्दा समेत तिन ओटा विद्यालयमा शिक्षक हाजिर हुन सकेका छैनन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ज्ञानज्योति आधारभुत विद्यालय सुन्दरनगर, वडा नम्बर ८ मा रहेको माद्यामिक विद्यालय अश्वारा र तुलसीपुर–१२ मा रहेको महेन्द्र माद्यामिक विद्यालयमा अहिलेसम्म शिक्षक हाजिर हुन नसकेका छैनन् ।

जसमा दिपेन्द्र माद्यामिक विद्यालय मानपुरबाट महेन्द्र माद्यामिक विद्यालय तुलसीपुरमा सरुवा भएका एकराज भण्डारी, आधारभूत विद्यालय रानागाँउबाट ज्ञानज्योति आधारभूत विद्यालय सुन्दरनगरमा सरुवा भएका पदम बहादुर खड्का र महेन्द्र माद्यामिक विद्यालय तुलसीपुरबाट माद्यामिक विद्यालय अश्वारामा सरुवा भएका यज्ञ बहादुर ओली रहेका छन् ।

अश्वारा माद्यामिक विद्यालयका प्रधानाध्यापक शिव लामिछानेले आफुहरुको माग सम्बोधन नभएकोले सरुवा भइ आएको शिक्षकलाई हाजिर गराउन नसकेको बताउनुभयो । आफुहरुको माग सम्बोधनको लागि तुलसीपुरका नगर प्रमुख टिकाराम खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग छलफल भइरहेको उहाँको भनाई छ ।

विद्यालयमा गत वर्ष असारदेखि मावि तहको एक जना र प्रावि तहमा सरुवा भएका यज्ञ बहादुरसहित दुई ओटा दरबन्दी खाली रहेको उहाँले बताउनुभयो । पालिकाले खाली रहेको दुईओटा दरबन्दीमा पदपूर्ति गरेपछि मात्रै सरुवा भई आएका शिक्षकलाई संगै हाजिर गराउने बताउनुभयो ।

यस्तै महेन्द्र माद्यामिक विद्यालय तुलसीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण) ले पालिकाले स्थायी दरबन्दी शिक्षकको ठाँउमा निमावि राहत शिक्षक पठाएकोले हाजिरी नगराएको बताउनुभयो । उहाँले दरबन्दी अनुसारको शिक्षकको ठाँउमा सोही दरबन्दीको शिक्षक पठाएमा हाजिर गराउने बताउनुभयो ।

कुनै पनि विद्यालयमा शिक्षक सरुवा गर्दा सम्बन्धीत विद्यालयको सहमति बिना शिक्षक सरुवा गर्ने नगर शिक्षा ऐनमा व्यवस्था भएपनि नगर प्रमुखको अध्यक्षतामा बसेकोनगर शिक्षा समितिको बैठकले सम्बन्धीत विद्यालयलाई कुनै जानकारी नगराई शिक्षक सरुवा गरेकोप्रति आपत्ति जनाउनुभयो ।

सयौँ विद्यार्थीहरुको भविष्य जोडिएको विद्यालयमा पालिका सरकारले हेचक्राइ गरेको आरोप समेत लगाउनुभयो । पालिकाले स्थायी दरबन्दी अनुसारको शिक्षक नपठाउँदा सम्म हाजिर नगराउने अध्यक्ष लहरेले बताउनुभयो । शिक्षकलाई तत्काल हाजिर गराउन चारदिन अघिमात्रै पालिकाले विद्यालयलाई दबाब स्वरुप चिठ्ठी पठाए पनि विद्यालयले अहिलेसम्म हाजिर गराएको छैन ।

यस्तै तुलसीपुर–५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय सुन्दरनगरमा सरुवा भएका शिक्षक पदम बहादुर खड्का हाजिर हुनुभएको छैन । उहाँ सरुवा अघि कार्यरत विद्यालयमा अध्यापन गराइ रहनु भएको छ । रानागाँउमा मावि बालापुरबाट सरुवा गरीएका शिक्षक विकास केसी हाजिरी नभएपछि खड्का आधारभूत विद्यालय ज्ञानज्योतिमा हाजिर हुन नसक्नु भएको हो ।

विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले सरुवा शिक्षक खड्कासंग निरन्तर फोन सम्वाद भइरहेको जानकारी दिनुभयो । कस्को को संग विवाद छ त्यो कुराको आफुलाइ जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले सरुवा भएर आएका शिक्षक विद्यालयमा आए आफुलाई हाजिर गराउन विद्यालयको तर्फबाट कुनै समस्या नरहेको बताउनुभयो ।

तुलसीपुर उपमहानपालिकाको शिक्षा ऐन २०७५ को दफा ३७ को उपदफा २ को (१) बमोजिम गरिएको दरबन्दी मिलानवाट सरुवा हुने शिक्षकले पत्र पाएको मितिले १ हप्ता भित्र रमाना लिई तोकिएको विद्यालयमा हाजिर भईसक्नु पर्ने व्यवस्था छ ।

यसरी हाजिर नहुने, रमाना नदिने र हाजिर नगराउने प्रधानाध्यापक र शिक्षकलाइ उपमहानगरपालिकाले नियमानुसार कारवाही गर्ने व्यवस्था भएपनि दरबन्दी मिलान भएको तिन महिना पुग्नै लाग्दा समेत शिक्षा महाशाखा निरही छ । सरुवा भएका शिक्षक एकराज भण्डारी र ममता ओली महेन्द्र मावि मा हाजिर हुन नपाएपछि पालिकामा गएर हाजिर लगाउने गरेका छन् ।

यता शिक्षा महाशाखाका प्रमुख चक्र बहादुर भण्डारीले पछिल्लो पटक कदरबन्दी मिलन भइ पठाएका शिक्षक मध्ये दुईओटा विद्यालयमा मात्रै हाजिर नगराउनु खासै ठुलो समस्या नरहेको बताउनुभयो । ति विद्यालयहरुले पनि छिट्टै व्यवस्थापन समितिमार्फत छलफल गरेर सरुवाको कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो ।

शिक्षकलाई हाजिर नगराएका विद्यालयलाई हाजिर गराउन पलिकाले पत्राचार गरीसकेको बताउनुभयो । पत्राचार गरेका विद्यालयमा शिक्षकलाई हाजीरी नगराए सोही विद्यालयको दरबन्दी काटेर अर्को विद्यालयमा शिक्षक पठाउने उहाँको भनाई छ । –रेडियो हाम्रो पहुँचबाट

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस