
दाङ, २६ जेठ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मन्दिरदेखि मसानघाटसम्म हुने विभेद अन्त्यका लागि दलित महिला जनप्रतिनिधिको भूमिका सशक्त बन्नुपर्ने बताउनुभएको छ ।
दलित महिला संघ दाङले तुलसीपुरमा आयोजना गरेको वडा सदस्यलाई बजेट तथा योजना तर्जुमा सम्बन्धि दुई दिने तालिमको समापन समारोहमा सोमबार अध्यक्ष विश्वकर्माले जातका नाममा हुने विभेद अन्त्य गरेमात्रै सभ्य समाजको परिकल्पना साकार हुने बताउनुभयो ।
उहाँले समाजमा कुनै पनि प्रकारको विभेद भएमा दलित महिला जनप्रतिनिधिले संवाद तथा छलफलका माध्यमबाट समाधानका उपाय खोज्नुपर्ने भन्दै यसमा दलित महिला जनप्रतिनिधिको भूमिका प्रमुख रहेको बताउनुभयो । उहाँले संविधानले हरेक तहमा दलित महिला प्रतिनिधित्व अनिवार्य गरेपछि अहिले निर्णायक तहमा दलित समुदायको सहभागीता बढ्न थालेको बताउनुभयो ।
बजेट निर्माण तथा योजना निर्माणमा दलित महिला जनप्रतिनिधिले थप शसक्त भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । उहाँले आफ्नो कार्यकालमा नतिजा देखिने गरी काम गर्न आग्रह समेत गर्नुभयो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षता एवं राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । प्रमुख अतिथी अध्यक्ष विश्वकर्माले आर्थिक अभावका कारण कोहि पनि बालबालिका विद्यालय बाहिर हुन नहुने भन्दै विपन्न बालबालिकाको शिक्षामा जनप्रतिनिधिले अभिभावकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।

समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी (वर्षात)ले समाजमा हरेक प्रकारका कुसंस्कार र कुरिती बिस्तारै कम हुँदै जाने र कम हुँदै गएको बताउनुभयो । उहाँले सति प्रथाको चर्चा गर्दै जातका नाममा हुने विभेद पनि एक दिन अन्त्य अवश्य हुने बताउनुभयो ।
तालिममा बबई गाउँपालिका–२ का दलित महिला सदस्य गिता परियार, शान्तिनगर गाउँपालिका–२ का दलित महिला सदस्य देवा विकले दुई दिनसम्म संचालन भएको तालिमले आफुहरुलाई थप आत्मविश्वास बढेको बताउनुभयो । दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका दलित महिला सदस्यको सहभागीतामा आइतबार र सोमबार दुई दिनसम्म तालिम संचालन भएको हो ।
तालिमको प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली र तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वली रहनुभएको थियो । कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव सीता विकले गर्नुभएको हो ।