
दाङ, २५ जेठ । तुलसीपुर नगर जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार ‘पूर्व अध्यक्षहरुको प्रेरणा र अनुभव आदानप्रदान’ कार्यक्रम गरेको छ । तुलसीपुर नगर जेसिजमा योगदान पुर्याएका नेतृत्वकर्ताहरुको अनुभवबाट नयाँ पुस्तालाई प्रेरणा दिन ‘पूर्व अध्यक्षहरुको प्रेरणा र अनुभव आदानप्रदान’ कार्यक्रम गरिएको हो ।
तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु झरेन्द्र खरेल, सूर्यप्रसाद शर्मा, मेघराज घिमिरे, शालिकराम वली, केशवराज केसी, पूर्णबिक्रम डाँगी लगायतले आफ्नो अनुभव र योगदानबारे चर्चा गर्नुभयो ।
उहाँहरुले जेसीजमार्फत आफुले पाएको नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वबारे अनुभव व्यक्त गर्नुभयो । यस्तै पूर्व अध्यक्षहरुले विगतमा जेसीजले तुलसीपुरमा सामाजिक परिवर्तन, युवा नेतृत्वको विकास, शैक्षिक तथा व्यावसायिक सीप अभिवृद्धिमा खेलेको भूमिकाको चर्चा गर्दै आजको पुस्ताले पनि त्यसैगरी सक्रिय भएर सामाजिक रूपान्तरणमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा केही पूर्व अध्यक्षहरुले पछिल्लो समय जेसीजमा अनुभव भएका नेतृत्वकर्ताहरुको कदरमा कमी आएको र सक्रिय व्यक्तित्वहरू बिस्तारै निष्क्रिय बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
पूर्व अध्यक्षहरुले जेसीजको माध्यमबाट समाजमा सुशासन, एकता र सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै जेसिजले आर्थिक, सामाजिक, शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा समेत प्रभावकारी पहल गरेको बताउनुभयो ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको उद्देश्य, गतिविधि र कार्यक्रमहरूबारे मूल संयोजक केशवराज न्यौपानेले जानकारी गराउनुभयो । उहाँले यस वर्षको कार्यक्रमलाई समाजसँग अझ घनिष्ठ रुपमा जोड्ने र युवाहरुलाई सामाजिक उत्तरदायित्वतर्फ आकर्षित गर्ने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीजका सहसचिव सुदिप केसीले गर्नुभएको हो ।