
दाङ, २१ जेठ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निवासी गोमा पुनको ६ वर्षीय छोरा उत्तम पुन गम्भिर घाइते भएका हुन् ।
रानीजरुवाबाट बसपार्कतर्फ आइरहेको रा ६ प ५४०८ नम्बरको मोटरसाइकलले पैदल यात्री ६ वर्षीय बालक उत्तमलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
घाइते बालकको सिटी अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङ होम, नेपालगञ्ज बाँकेमा रिफर गरिएको छ । बालकको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक तुलसीपुरकै अन्दाजी १८ वर्षीय साजन थापा दुर्घटनापछि फरार रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।