२०८२ असार ३ गते बुधवार

पातुखोलाको फोहोर उठाउन पुगे समाजसेवी उपेन्द्र पौडेल


दाङ, १७ जेठ । नागरिकका हरेक दुख पिडामा मलमपट्टी लगाउने उपेन्द्र पौडेल निरन्तर सामाजिक कर्ममा हुनुहुन्छ । ‘नागरिकका दुख पीडा देख्दा मन थाम्न सक्दिन’ उपेन्द्र पौडेल भन्नुहुन्छ–‘नागरिकको दुख नै हाम्रो दुख हो । सेवा गर्नु भनेको धर्म निभाउनु हो ।’

यी शब्दहरू कुनै भाषणका लागि बोलेका खाली वाक्य होइनन्, यी उहाँका जीवनका सूत्रवाक्य हुन्, जुन उहाँ दिनप्रतिदिन व्यवहारमा उतारिरहनुभएको छ ।

शनिबार बिहान पनि तुलसीपुर उपमहानगरपालिका–५ स्थित पातुखोलामा फोहरको थुप्रो देखेपछि उहाँ चुप लागेर बस्नुभएन । हातमा झोला, कुचो र दस्ताना बोकेर उहाँ खोलातिर लाग्नुभयो । उद्देश्य एउटै थियो –‘खोला सफा बनाउने र जनचेतनाको सन्देश फैलाउने ।’

फोहोरले पुरिँदै गइरहेको पातुखोलाको सफाइमा होमिएर उहाँले केवल खोलामै होइन, नागरिकको मनमा पनि आशाको उज्यालो छरिदिनुभयो । ‘म मानिस भएर जन्मिएको छु, कर्म र धर्म सँगसँगै बाँच्नुपर्छ ।’ उहाँले भन्नुभयो –‘आफ्नो निजी स्वार्थका लागि मात्र बाँच्नु पाप हो ।’

पौडेलले प्रकृतिप्रति पनि आभार व्यक्त गर्नुहुन्छ । ‘हामी आज जिउँदै छौं भने त्यो विभिन्न जीव–जन्तु र वनस्पतिको योगदानले हो ।’ उहाँले भन्नुभयो–‘जीवजन्तु र वनस्पतिको बलिदानप्रति कृतज्ञ हुन सेवाभाव आवश्यक छ ।’

‘म सफा गर्छु, मेरो देश’ भन्ने अभियान अन्तर्गतको सरसफाइ कार्यक्रममा उपेन्द्र पौडेल मात्र होइन, अभियानका अभियन्ता निम बहादुर बुढाथोकी, मेघराज केसी, रविन ज्ञवाली, विनोद ओलीलगायतका सामाजिक कार्यकर्ताहरूको समेत सक्रिय उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस