२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा मन्दिरको जग्गा अतिक्रमण गरेर व्यक्तिका महल खडा


दाङ, १४ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित बजारभित्र मन्दिरको नाममा रहेको जग्गा अतिक्रमणमा परेको छ । सिद्ध रत्ननाथ मन्दिरको नाममा रहेको १० कठ्ठा जग्गामध्ये मन्दिरले अहिले जम्मा तीन कठ्ठा मात्रै भोगचलन गर्न सकेको छ ।

गुठीअन्तर्गत पर्ने उक्त मन्दिरको बाँकी जग्गामा हाल ठूला–ठूला चार–पाँच तले घर निर्माण भएका छन् । मन्दिरका संरक्षक तेजनाथ योगीका अनुसार हाल त्यो क्षेत्रमा करिब १५–२० वटा घर बनिसकेका छन् । मन्दिरले सभाहल बनाउनका लागि ठाउँ आवश्यक भएपनि ती जग्गामा बनेका घर हटाउन सकस परेको छ ।

पहिले मन्दिर तुलसी बोर्डिङ चोक नजिकै रहेकोमा पछि स्थानान्तरण गर्दा मन्दिर क्षेत्रकै जग्गा अतिक्रमणमा परेको हो । संरक्षक योगीले अतिक्रमित घरहरुले कम्तीमा मन्दिरलाई जग्गा वापत भाडा दिने वा एउटा सटरसमेत दिने व्यवस्था मिलाइए मन्दिर सञ्चालनमा सहज हुने बताउनुभयो ।

मन्दिरले हालै सप्ताह आयोजना गर्दै सभाहल निर्माणको योजना बनाएको भए पनि पर्याप्त जग्गा नभएकाले समस्या भइरहेको छ । मन्दिरको जग्गा सार्वजनिक सम्पत्ति भएकाले त्यसको संरक्षण र पुनःस्थापनामा राज्यको सहयोग आवश्यक रहेको संरक्षक योगीको माग छ ।

बजार विस्तारसँगै सरकारी र गुठी जग्गा अतिक्रमण हुने क्रम बढिरहेको सन्दर्भमा तुलसीपुरस्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा पनि अतिक्रमणको चपेटामा परेको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस