दाङ – किवानिस क्लव अफ डाइनामिक तुलसीपुरको आयोजनामा तुलसीपुर-३, अम्बासमा अवस्थित मावि प्रतापकोटका कक्षा बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा रेनकोट वितरण गरिएको छ।
क्लबका अध्यक्ष ललित जंग शाहका अनुसार आर्थिक तथा सामाजिक रूपमा कमजोर क्षेत्रका बालबालिकाहरूलाई अध्ययनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।
“धनीहरू शहर झर्छन्, राम्रो विद्यालय पढाउँछन्, तर बाँच्न पनि मुस्किल हुने परिवारका बालबालिकाहरू भने आधारभूत सामग्रीको अभावले पढाइमै जान सक्दैनन्,” अध्यक्ष शाहले भन्नुभयो, “त्यसैले हाम्रो प्रयास त्यही अभाव पूर्ति गर्नु हो।”
आगामी वर्षा यामलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई रेनकोटसमेत प्रदान गरिएको छ। वर्षाका कारण विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने सोचले यो कदम चालिएको क्लबका महासचिव जयन्त उपाध्यायले जान्नाकरी दिनुभयो ।
विद्यार्थीहरूले पाएको सामग्रीप्रति खुसी व्यक्त गर्दै क्लबलाई धन्यवाद दिएका छन्। “हामीले रेनकोट देखेका पनि थिएनौं, आज पाउँदा एकदम रमाइलो लाग्यो,” एक बालकले उत्साहित हुँदै भने
क्लबका अध्यक्ष शाह र उपाध्यक्ष विश्व बस्नेतले अनाथ तथा विपन्न बालबालिकाहरूको शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्लबले आगामी दिनमा स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
त्यस क्षेत्रका नागरिकहरूले क्लबको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले गाउँमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।


