२०८३ असार ७ गते आइतवार

कपुरकोट गाउँपालिकामा बहिर्गमन अभिमत सर्वेक्षणको परिणाम सार्वजनिक


सल्यान, १० जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा शनिबार बहिर्गमन अभिमत सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले कृषि, पशुपंक्षी, महिला तथा बालबालिका शाखामार्फत प्रदान गरिएका सेवाहरूको प्रभावकारिता, समस्या र सुधारका उपायबारे जनताको सुझाव लिन सर्वेक्षण सञ्चालन गरिएको हो ।

दलित विकास समाज सल्यान अन्तर्गत सामाजिक तथा आर्थिक न्यायका लागि सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं. ३, ५ र ६ का महिला, दलित तथा पछाडि पारिएका समुदायलाई प्राथमिकतामा राखी गरिएको सो सर्वेक्षणमा ३०० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभयो। सर्वेक्षण २०८२ साल वैशाख १४ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुनले यस्तो नागरिक सर्वेक्षणले स्थानीय सरकारको काममा टेवा पुग्ने र सुधारका पक्ष पहिचान गर्न सहयोगी हुने बताउनुभयो ।

उहाँले कृषिमा माटो परीक्षण र पशुपंक्षी बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने र आगामी बजेटमा सुधारका कार्यक्रम समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले महिलाको क्षमता अभिवृद्धि, व्यावसायिकता विकास, लैङ्गिक हिंसाविरुद्धको चेतना तथा रुचि अनुसार तालिमहरू सञ्चालनमा जोड दिइने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले सीमित बजेटभित्र नागरिकमुखी विकास सुनिश्चित गर्न प्रयास भइरहेको उल्लेख गर्नुभयो । वडा नं. ३ का अध्यक्ष प्रदीप खड्का र वडा नं. ५ का अध्यक्ष होमबहादुर खड्काले पनि सेवाको प्रभावकारिता सुधार गर्न यस्ता सर्वेक्षण आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा कृषि, पशुपंक्षी, महिला तथा बालबालिका शाखाका प्रमुख, नागरिक समाजका सदस्य र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सर्वेक्षणको नतिजा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डागीले सार्वजनिक गर्नुभयो ।

उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

सर्वेक्षण सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन, समस्या पहिचान, नीति निर्माणमा सहयोग, समावेशी विकास सुनिश्चितता, सन्तुष्टि मापन, आर्थिक पारदर्शिता र जवाफदेहिताका उद्देश्यले सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस