२०८२ जेष्ठ २९ गते बिहिवार

घर परिवार र समाजको असल भूमिकाले बालबालिका असल हुनेमा सरोकारवालाको जोड


दाङ, १० जेठ । बालबालिकाको भविष्य सुनिश्चित गर्न घरबाटै असल संस्कार दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

शनिबार तुलसीपुर–१६ जहदा गाउँ टोलमा आयोजित ’सुनौलो भविष्य’ नामक कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकामा नैतिकता, अनुशासन र सामाजिक चेतनाको विकासका लागि अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिएका हुन् ।

दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले विद्यालयले मात्र असल जनशक्ति उत्पादन गर्न नसक्ने भन्दै अभिभावकले बालबालिकालाई घरमै असल संस्कार दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय अभिभावकको निगरानी अभावमा बालबालिका गलत क्रियाकलापमा संलग्न हुन थालेको उल्लेख गर्दै मोबाइलको लतबाट जोगाउन मोबाइल चलाउने निश्चित समय निर्धारण आवश्यक रहेको बताउनुभयो ।

उहाँले बालबालिकालाई सकारात्मक सोच, आत्मनिर्भरता, सामाजिक व्यवहार र आत्मअनुशासन जस्ता गुणहरू सिकाउन घर परिवार, अभिभावक र समाजको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका निवर्तमान सभापति नविन कुमार पोखरेलले बालबालिकाको भविष्य अभिभावककै चालचलनमा आधारित हुने बताउनुभयो ।

उहाँले विद्यालयबाट शिक्षा प्राप्त गरेपनि संस्कारयुक्त नभएमा भविष्य सुन्दर बनाउन नसकिने धारणा राख्नुभयो । त्यस्तै जहदा गाउँ टोल विकास संस्थाका अध्यक्ष टेशीराज पोखरेलले टोलमा कुनै पनि बालबालिका शिक्षाको पहुँच बाहिर नभएको बताउँदै संस्कारयुक्त बनाउन अभिभावक र समाज दुवै सचेत हुनुपर्ने बताउनुभयो ।

मावि बिजौरीका पूर्व प्रधानाध्यापक शम्भू पोखरेल, निवृत्त शिक्षक मनोज पोखरेल, स्थानीय राधा धिताल लगायतले बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउने, घरमै शिक्षा दिने र समाजमा घुलमिल गराउने जस्ता उपायहरू अपनाउनुपर्ने बताउनुभयो । बालबालिकाको समग्र विकासका लागि घरपरिवार, विद्यालय र समाजबीचको समन्वय अत्यावश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ ।

अभिभावलाई सचेतना दिने उद्देश्यले संचालन गरिएको कार्यक्रम सुनौलो भविष्य दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले उत्पादन तथा प्रशारण गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस