२०८३ भाद्र १३ गते शनिवार

समाजसेवी उपेन्द्र पौडेलको पहलमा पुरियो, सग्राम खोलाको पुलका खाल्डा

दाङ, ५ जेठ । तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर–१८ मा पर्ने सग्राम खोला पुलको डिभाइडरमा वर्षौंदेखि रहेको खाल्डा अब पुरिएको छ । त्यो पनि कुनै सरकारी पहलबाट होइन, स्थानीय समाजसेवी उपेन्द्र पौडेल र समाजसेवी युवाहरुको अगुवाइमा ।

घोराही–तुलसीपुर सडकखण्डमा पर्ने यस पुलमा रहेको खाल्डाले खासगरी साना सवारीसाधनका यात्रुहरूलाई धेरै सास्ती दिँदै आएको थियो । झ्याँकिने झट्काले यात्रु मात्र होइन, भर्खरै अप्रेशन गरिएका बिरामीहरूलाई समेत अत्यन्त पीडा दिने गरेको स्थानीयको गुनासो थियो ।

सरकारले चासो नदिएको देखेपछि समाजसेवी उपेन्द्र पौडेल अगाडि सर्नुभएको हो । तुलसीपुर–७ जितपुर निवासी पौडेलले आफैं पहल गर्दै तुलसीपुर–१८ का वडा सदस्य धनबहादुर बस्नेत, समाजसेवी घोराही–१५ का रविन ज्ञवाली, प्रमोद देवकोटा, स्थानीय रमेश पौडेल, हरि पौडेल, देवबहादुर खड्का, सजित रावत, विशाल डाँगी तथा हेमन्तपुर बेलघारी टोल विकास संस्थाका अध्यक्ष सूर्य बहादुर डाँगीसँग मिलेर खाल्डा पुरिएको हो । खाल्डो पुर्न सबैले व्यक्तिगत रूपमा आर्थिक तथा भौतिक श्रम सहयोग गरेका हुन् ।

‘अब त साना समस्या पनि सरकारले हेर्दैन, हामीले आफैं समाधान खोज्नुपरेको हो ।’ पौडेलले भन्नुभयो–‘खाल्डा पुरेपछि यात्रा अब केही सहज भएको छ ।’

तर यो जनपहललाई समर्थन गर्नुपर्ने स्थानीय सरकार भने उल्टै आलोचनामा तानिएको छ । खाल्डा पुरिरहेको बेला तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का घटनास्थलमा पुग्नुभयो ।

लगत्तै युवाहरूले सोधे–‘मेयरज्यू, खाल्डा झ्याँक्दैन ? त्यो सामान्य प्रश्न थियो, तर त्यसपछि भएको घटनाले झनै चर्चा बटुलेको छ । पत्रकार सागर सुवेदीले सो दृश्यको भिडियो लिन खोज्दा मेयर खड्काले मोबाइलसमेत खोस्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस