२०८२ असार ८ गते सोमवार

दाङभ्याली माविमा चुनावी प्रक्रियाबाट ’स्कुल क्याप्टेन’ चयन


दाङ, ३ जेठ । प्रजातान्त्रिक प्रक्रियाप्रति विद्यार्थीहरूलाई अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मावि तुलसीपुरले ‘स्कुल क्याप्टेन’ को चयन निर्वाचन प्रक्रियाबाट सम्पन्न गरेको छ ।

निर्वाचन प्रक्रियालाई वास्तविक अभ्यास जस्तो बनाउन विद्यालय प्रशासनले मतपत्र र मतपेटिकाको व्यवस्था गर्नुका साथै उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरी प्रचारप्रसारका लागि समयसमेत निर्धारण गरेको थियो । मतदान प्रक्रिया सम्पन्न गराउने जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिएको थियो ।

विद्यालय प्राङ्गणमै मतदान केन्द्र (बूथ) निर्माण गरी मतदानको व्यवस्था गरि निर्वाचन गरिएको हो । विद्यालयको वार्षिक कार्यतालिका अनुसार शुक्रबारको नियमित कार्यक्रमअन्तर्गत सम्पन्न उक्त निर्वाचनमा कक्षा ६ देखि ११ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक गोप्य मतदान गरेका हुन् ।

निर्वाचनमा जम्मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मतगणना पश्चात कक्षा १० मा अध्ययनरत छात्र लोकराज घर्तीले सर्वाधिक ४८ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी झिनो मतान्तरले पराजित भएका थिए ।

सोही अवसरमा विद्यालयमा ‘दाङभ्याली इको क्लब’ गठन गरिएको छ । क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था गरिएको छ भने अध्यक्षमा कक्षा १० का उत्सव साहू चयन भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा कक्षा १० कै सुहान भण्डारी, कोषाध्यक्षमा कक्षा ८ का रेकिसन केसी, सचिवमा कक्षा ८ कै हिमाल वली तथा सदस्यहरूमा प्रेन्का र उज्ज्वल बपाल चयन भएको विद्यालयका अध्यक्ष तिलक साहूले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिला अर्यालले निर्वाचन तथा क्लब गठन प्रक्रियाले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस