२०८२ असार ८ गते सोमवार

महिलालाई व्यावसायिक तरकारी खेती तालिम


सल्यान, १ जेठ । सल्यानमा महिलालाई व्यावसायिक तरकारी खेती तालिम प्रदान गरिएको छ । ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय धनवाङ, सल्यानले व्यावसायिक तरकारी खेती तालिम सम्पन्न गरेको हो ।

बिहीबार धनवाङमा आयोजित तालिमको समापन कार्यक्रम संस्था शाखा प्रवन्धक प्रेमबहादुर बिकको अध्यक्षता एवं संस्थाको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत अर्जुन पौडेल प्रमुख अतिथ्यता तथा कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्का विशिष्ठ आतिथ्यतामा भएको हो ।

तालिममा धनवाङ अन्तर्गतका विभिन्न केन्द्रबाट ५९ जना महिलाहरूको सहभागिता रहेको थियो। प्रशिक्षण कृषि अधिकृत टीका कुमारी राईले दिनुभएको हो । कार्यक्रममा अनुगमन अधिकृत अर्जुन पौडेलले लघुवित्त संस्थाबाट प्रदान हुने सेवा–सुविधा र त्यसको प्रभावबारे जानकारी दिनुहुँदै महिला सशक्तिकरण, आय आर्जन र सामाजिक जागरूकता वृद्धिमा लघुवित्तले पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

सदस्यहरूले सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गरिनुपर्ने, आयमूलक व्यवसायमा तालिमको पहुँच वृद्धि गर्नुपर्ने लगायतका सुझावहरू राख्दै संस्थाको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस