
दाङ, ३१ वैशाख । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्ड अन्तरगत बोगटीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
तुलसीपुरबाट खाद्रे तर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको मोटरसाइकल मंगलबार राती अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–४ खाद्रेका ३२ वर्षीय साजन बुढा मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको नाक, मुख, आँखा र टाउकोमा चोट लागेको छ । बुढाले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार तुलसीपुर–४ खुमखानीका २३ वर्षीय रमेश घर्तीमगर पनि घाइते हुनुभएको छ । उहाँको दुबै हात र नाकमा सामान्य चोट लागेको छ। प्रहरीका अनुसार घर्तीले पनि मापसे गरेको पुष्टि भएको छ ।
दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि भर्ना गरिएकोमा गम्भिर घाइते रहेका बुढालाई थप उपचारका लागि नर्सिङहोम नेपालगन्ज रेफर गरिएको छ । यस्तै सामान्य घाइते घर्तीलाई अस्पतालले डिसचार्ज गरेको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र मोटरसाइकल प्रहरी चौकी पर्सेनीको नियन्त्रणमा रहेको छ ।