२०८२ जेष्ठ २९ गते बिहिवार

गुरुकुल एकेडेमीमा निर्वाचनबाट कप्तान, उपकप्तान तथा सदन कप्तान चयन

दाङ – विद्यार्थी नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गुरुकुल एकेडेमी, घोराहीमा सम्पन्न विद्यार्थी प्रतिनिधि निर्वाचनबाट विद्यालय कप्तान, उपकप्तान तथा चार सदनका कप्तानहरू चयन भएका छन्।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको निर्वाचन प्रक्रियामा मतदानमार्फत आफ्ना प्रतिनिधिहरू चयन गरिएको थियो। विद्यालय संयोजक भुवन आचार्यका अनुसार निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो।

निर्वाचनबाट विद्यालय कप्तानमा कक्षा १० की छात्रा यशु बुढाथोकी चयन भएकी छन् भने उपकप्तानमा अनुभव पाण्डे विजयी भएका छन्।

चार सदनका लागि चयन भएका कप्तान र उपकप्तानहरू निम्नानुसार छन्:

रुवि सदन: कप्तान एलेक्स केसी, उपकप्तान सुव्रत खनाल

सफायर सदन: कप्तान रादिप बीएम, उपकप्तान विधि आचार्य

एमरल्ड सदन: कप्तान टाइसन विष्ट, उपकप्तान दुर्गा पुन

टोप्याज सदन: कप्तान सेहन ज्ञवाली, उपकप्तान शुलभ पाण्डे

जम्मा ३३२ जना मतदाता रहेकोमा ३१२ मत खसेको थियो भने २० जना अनुपस्थित भएका थिए। तीमध्ये ५ मत बदर भएको संयोजक आचार्यले जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले नवनिर्वाचित विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यमा नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरणा दिनुभएको थियो। उहाँले यस्तो प्रक्रियाले विद्यार्थीहरूमा उत्तरदायित्व, आत्मविश्वास र सहभागितामूलक शिक्षा प्रणालीको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

गुरुकुल एकेडेमीले प्रत्येक वर्ष नियमित रूपमा विद्यार्थी प्रतिनिधि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस