२०८२ बैशाख ३० गते मङ्गलवार

सिद्ध रत्ननाथ मन्दिरको बहुउद्देश्यीय हल निर्माणका लागि महोत्सव


दाङ, २५ बैशाख । तुलसीपुर–५ स्थित श्री सिद्ध रत्ननाथ मन्दिरमा नयाँ वर्ष 2082 को शुभ अवसर पारेर ‘श्रृङ्गारिक महा आरती धर्म जागरण सप्ताह महोत्सव’ भव्य रूपमा सञ्चालन भइरहेको छ। वैशाख २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस साताव्यापी धार्मिक कार्यक्रमले मन्दिर परिसरमा बहुउद्देश्यीय हल निर्माणको उद्देश्य बोकेको छ।

पवित्र वातावरणमा कथा वाचन गर्दै कथा वाचक पण्डित जीवन न्यौपानेले भक्तजनलाई अध्यात्मिक ज्ञान बाँडिरहनु भएको छ भने, साँझ ८ बजे हुने श्रृङ्गारिक महा आरतीले वातावरण अझ भक्तिमय बनाइरहेको छ। महोत्सवको तेस्रो दिनसम्ममा दानदाताबाट करिब ३ लाख रुपैयाँ संकलन भइसकेको छ, जसले महोत्सवको प्रभावकारिता र भक्तजनको श्रद्धा स्पष्ट देखिन्छ।

विशेषगरी तेजनाथ योगी, कमला यही र सरस्वती योगीबाट १ लाख १ हजार १११ रुपैयाँ, भीष्म केसी परिवारबाट ४५ हजार रुपैयाँ, मेनका बुढाथोकी परिवारबाट २१ हजार १२१ रुपैयाँ र रोल्पाबाट भौतिक रूपमा उपस्थित नभएर पनि रक्षा कँडेलले ११ हजार ५०५ रुपैयाँ दान गर्नु भएको छ।

१० हजार रुपैयाँभन्दा माथिको दानदातालाई पञ्चेबाजासहित विशेष सम्मान गरिएको छ।

धार्मिक आस्थालाई संगठित गर्दै समाजका दानवीरहरूको उदार मनोभावनालाई प्रेरित गर्ने यो महोत्सवले भावी पुस्तालाई पनि धर्म र संस्कृतिप्रति जागरुक बनाउने विश्वास आयोजकले लिएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस