
दाङ, २५ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको रानीघाट शबदाहस्थलको संरचना अज्ञात समुहले भत्काएको छ ।
करिब ३० वर्षअघिदेखि रहेको शवदाहस्थल स्थानान्तरणको चर्चा चलिरहेका बेला मंगलबार राती अज्ञात समुहले भत्काएपछि स्थानीयले आक्रोशित भएका छन् ।
उनीहरुले शवदाहस्थल अहिलेकै स्थानमा रहनुपर्ने मागसहित बिरोध जनाएका छन् । शबदाहस्थल भत्काउनेको खोजि गरी कार्बाही गरिनुपर्ने उनिहरुको माग छ । तुलसीपुर–घोराहीसडकदेखि उत्तरतर्फ रहेको शबदाहस्थल नजिकै दुई वटा विद्यालय छन् ।
विद्यालय नजिक शबदाहस्थल हुँदा बालबालिकामा मनौवैज्ञानिक असर परेको भन्दै उक्त शबदाहस्थल स्थानान्तरण गर्ने चर्चा चालिरहेका बेला अचानक अपरिचित समुहले भत्काएको हो ।
स्थानीय अगुवा तुलसीपुर–७ राजापुर निवासी भरत भण्डारीले राज्य र स्थानीयको सहमति बिना सार्वजनिक संरचना भत्काउनेलाई कानुन बमोजिम कार्बाहीको माग गर्नुभएको छ । उहाँले अहिलेकै ठाउँमा तत्काल शबदाहस्थल बनाउनुपर्ने बताउनुभयो ।
यस्तै अर्का स्थानीय जगदिश भण्डारीले विकल्प थुपै्र हुँदाहुँदै पनि शबदाहस्थल भत्काउनु गलत कार्य भएको बताउनुभयो । उहाँले रानीघाट शवदाहस्थल धर्म र भावनासंग जोडिएको हुँदा स्थानान्तरण गर्न नहुने बताउनुभयो ।
रानीघाट शबदाहस्थल गैराखाली सामुदायिक बन क्षेत्रको जग्गामा छ । उक्त शबदाहस्थल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, ६ र ७ का नागरिकको साझा आर्यघाट हो । स्थानीयले नजिकै रहेको अमर बोर्डिङ स्कुलले नै शबदाहस्थल भत्काउन लगाएको आरोप समेत लगाएका छन् ।
यसैबिच तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जिसीले रानीघाट शवदाहस्थल स्थानान्तरणको तयारी भएपनि अहिलेलाई हालकै स्थानमा व्यवस्थापन गरिने बताउनुभयो । उहाँले अर्को ठाउँमा व्यवस्थापन नहुँदै शबदाहस्थल भत्किएकोमा दुख व्यक्त गर्दै तत्कालको अवस्थामा अहिलेकै ठाउँमा संरचना निर्माण गरि पुरानैलाई कायम गरिनुपर्ने बताउनुभयो ।
तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारीले पनि शवदाहस्थल स्थानान्तरणको तयारी भएपनि पूर्ण व्यवस्थान नहुँदै भत्काएको दुख व्यक्त गर्नुभयो । उहाँले अहिले पुरानै ठाउँमा व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो । तुलसीपुर–५ का अध्यक्ष बिरेन्द्र शाहले अहिले तत्कालका लागि पुरानै ठाउँमा शवदाहस्थल कायम रहने बताउनुभयो ।
शबदाहस्थल तुलसीपुर–घोराही सडकदेखि तलतिर वडा नम्बर ६ मा सार्ने तयारी छ । तर अझै टुंगो भने छैन् । रानीघाट टोल विकास संस्थाका अध्यक्ष उत्तम आचार्यले शवदाहस्थल नयाँ ठाउँमा स्थानान्तरण हुन नहुने बताउनुभयो ।