२०८२ बैशाख ३० गते मङ्गलवार

सगरमाथा स्कुलका विद्यार्थीलाई अभिमुखीकरण


दाङ, २५ बैशाख । तुलसीपुर उपमहानगरपालिका–९, बेलुवामा रहेको सगरमाथा स्कुलले बिहिबार एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विद्यालयका प्रिन्सिपल छविकुमार ओलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक भरतनाथ योगीको विशिष्ट आतिथ्यतामा भएको हो ।

कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उनीहरूमा आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकास हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यवहार, दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तै प्रशिक्षकका रूपमा बोल्दै प्रहरी नायब निरीक्षक योगीले विद्यार्थीहरूलाई बालविवाह न्यूनीकरण, सवारी दुर्घटनाको रोकथाम, साइबर अपराधजस्ता समसामयिक तथा महत्वपूर्ण विषयमा प्रशिक्षण दिनुभयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम तुलसीपुर–९ स्थित मटका होटलमा आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेर माहोललाई झनै उल्लासमय बनाएका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस