
दाङ, २४ बैशाख । बालबालिकामा असल आचरण र नैतिकता विकास गर्न अभिभावक स्वयंले घरबाटै संस्कार दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
बालबालिकाको प्रारम्भिक शिक्षा घरबाटै सुरु हुने भएकाले उनीहरूको व्यक्तित्व निर्माणमा अभिभावकको भूमिकालाई अत्यन्त महत्वपूर्ण मानिने उनिहरुको भनाई छ ।
तुलसीपुरमा आयोजित सुनौलो भविष्य नामक कार्यक्रममा वक्ताहरूले बालबालिका अनुशासित, इमानदार र जिम्मेवार नागरिक बन्न अभिभावक र समाजले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।
कार्यक्रममा तुलसीपुर–१६ डोक्रेनी टोल विकास संस्थाका कार्यबहाक अध्यक्ष माया देवकोटाले सञ्चार, शिक्षा र संस्कारको प्रभाव बालबालिकाको व्यवहारमा गहिरो प्रभाव पार्ने बताउनुभयो ।
उहाँले बालबालिकालाई राम्रो संस्कार दिन अभिभावकले आफू नै असल उदाहरण बन्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई पढ्नुपर्छ भन्ने तर अभिभावक मोबाइलमा व्यस्त हुने प्रवृति रहेको बताउनुभयो ।
कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालमैत्री समाज निर्माणका लागि विद्यालय, परिवार र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यमान सामाजिक विकृति र प्रविधिको गलत प्रयोगबाट बालबालिकालाई जोगाउन सचेत रहन अभिभावकलाई आग्रह गर्नुभयो ।
उहाँले अभिभावक सचेतनाको अभियानका लागि कार्यक्रम सुनौलो भविष्यको परिकल्पना गरिएको बताउनुभयो ।