
दाङ, २२ बैशाख । जातका नाममा हुने विभेद अन्त्यका लागि सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । तुलसीपुरमा सोमबार भएको ‘जतिय भेदभाव विरुद्ध’ दलित र गैरदलित समुदायका अगुवाबिचको संवाद कार्यक्रममा सरोकारवालाले विभेद अन्त्यका लागि सामुहिक पहलमा प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समाजका अगुवा लगायतका सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जातिय विभेदमुक्त नगरका लागि दलित समुदायको प्रोफाइल तयार गर्न लागेको बताउनुभयो । उहाँले तुलसीपुर–३ बाहेक अन्य सबै वडाबाट आवश्यक विवरणहरु आइसकेको बताउनुभयो ।
नगरले दलितको उत्थान तथा विभेद अन्त्यका लागि दलित शसक्तिकरण ऐन लागु गरेको बताउँदै नगरप्रमुख खड्काले जातिय आधारमा दलित माथि हुने विभेद धर्मगुरुबाटै अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले दलितले छोएपछि सुनपानी छिट्ने प्रवृति अन्त्य भएपनि संस्कार उस्तै हँुदा विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।
यस्तै नगर उपप्रमुख स्यानी चौधरीले नगरको समृद्धिका लागि विभेदमुक्त समाज अनिवार्य रहेको बताउनुभयो । यस्तै सामाजिक विकास विकास समितिका संयोजक मानबहादुर रावतले नगरलाई जातिय विभेदमुक्त बनाउनका लागि सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विधायन समितिका संयोजक भिम बहादुर योगी, तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटा, वडा नम्बर ४ का अध्यक्ष तुलसी थापा, वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी ‘वर्षात’ लगायतले जात, धर्म, लिंग, कामका आधारमा हुने विभेद अन्त्य नहुँदासम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका महिला बालिबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरलाई जातिय भेदभावमुक्त घोषणाको तयारी रहेको बताउनुभयो । तुलसीपुरमा २०७८ को जनगणना अनुसारको २० हजार ६५ दलित समुदायको जनसंख्या रहेको उहाँले बताउनुभयो । उहाँले दलित समुदायमा गतवर्ष ७८ जोडीको विवाह भएको र ३७ जोडी २० वर्षमुनिका रहेको समेत बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगीले जातिय विभेद अन्त्यका लागि कानुनी सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले तुलसीपुरमा जतिय विभेदका घटना प्रहरीसम्म नआएको बताउनुभयो । नेपाल राष्ट्रिय दलित समाजका केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले विभेद मुक्त समाज अन्त्यका लागि राज्य गम्भिर बन्नुपर्ने बताउनुभयो ।
तुलसीपुर–७ राजापुरका ६४ वर्षिय भिमबहादुर नेपालीले विभेद अन्त्यका लागि कानुन बनेपनि व्यवहारतहमा कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले छोराले बाहुन समुदायको बुहारी विवाह गरेपछि माइती पक्षले स्विकार गर्न नसकेको समेत बताउनुभयो । नगरलाई जातिय भेदभाव मुक्त घोषणाका लागि समाजका अगुवासंग संवाद कार्यक्रम गरिएको हो ।
सोमबार तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सामाजिक अगुवासंग संवाद गरिएकोमा मंगलबार १० देखि १९ नम्बर वडासम्मका प्रतिनिधिसंग संवाद गरिने महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता बिजय पोखरेलले कानुनी सचेतना दिँदै जातको आधारमा विभेद भएमा तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना अथवा दुवै हुने व्यवस्था रहेको बताउनुभयो । यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा थप तीन महिना बढी सजाय हुने व्यवस्था रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण दलित अधिकारकर्मी निर्मल नेपाली र शाखा प्रमुख श्रेष्ठले गर्नुभएको हो ।