२०८२ बैशाख ३० गते मङ्गलवार

श्रमिक दिवसमा पत्रकारिता क्षेत्रका श्रमिक सम्मानित

दाङ, १८ बैशाख । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रेस चौतारी नेपाल दाङले सञ्चार मजदुरलाई सम्मान कार्यक्रम गरेको छ । लामो समय पर्दा पछाडि रहेर प्रेस जगतमा योगदान पुर्याउदै आएका पत्रिका वितरक, अपरेटर र प्राविधिकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा प्रेस अपरेटरतर्फ गिरिराज तिवारी, मोहन चौधरी र सुदीप चौधरी, रेडियो प्राविधिकतर्फ मनुडिसी, जुनु खड्का र मेनराज गौतम, तथा कम्प्युटर अपरेटरतर्फ सविता रोका र दीपक चौधरी रहेका छन्।

प्रेस चौतारी दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डे रहेका थिए।

कार्यक्रममा बोल्दै पाण्डेले पत्रकारिता स्वच्छ र स्वतन्त्र रहनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समाचार लेखेको कारण जेल जानु नपर्ने व्यवस्था संविधानले सुनिश्चित गरेको छ। विचार, अभिव्यक्ति र सिर्जनशीलता लोकतन्त्रका सुन्दर पक्ष हुन्।”

उहाँले थप्दै भन्नुभयो, “दमनले आवाज रोकिन्न, कलमले विश्राम लिन्न। पत्रकारितामा टिकाराम रेग्मीले देखाएको बाटो प्रेरणादायी छ। नेपालमा सञ्चार क्षेत्र पहिले प्रताडित थियो, अहिले सहज बन्दै गएको छ।”

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा बोल्दै पाण्डेले ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा विश्राम’ को अवधारणालाई आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य, तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, नेकपा एमाले प्रचार विभाग प्रमुख संगीत बस्याल, नेपाल प्रेस युनियन दाङ अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघ दाङ उपाध्यक्ष नारायणी रजौरे, सञ्चारकर्मी ओपेन्द्र बस्नेत तथा प्रेस चौतारीका पूर्व अध्यक्ष प्रेम बहादुर रामजासहितका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम प्रेस चौतारी तुलसीपुर नगर कमिटीका अध्यक्ष बसन्त परियारको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन अरू नेपालीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस