२०८३ जेष्ठ २५ गते सोमवार

‘घरमा नै छोराछोरीलाई सँस्कार दिनुपर्छ’


दाङ, १८ बैशाख । बालबालिकालाई असल र नैतिवान जनशक्ति बनाउन अभिभावकले असल भूमिका खेल्नुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । तुलसीपुर–१२ कान्तिपुरमा गरिएको सुनौलो भविष्य नामक कार्यक्रममा सहभागीले बालबालिकालाई समय दिएर अभिभावकले असल संस्कार सिकाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकाले विद्यालय पठाएरमात्रै जिम्मेवारी पूरा नहुने भन्दै घरमा पनि असल संस्कार दिनुपर्ने बताउनुभयो ।

उहाँले अहिले पनि धेरै बालबालिका आफ्‌नो दैनिकी काममा सक्रिय हुन नसकिरहेको भन्दै बालबालिकालाई शिक्षासंगै व्यावहारिक काममा जोड्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकको असल संस्कारले मात्रै बालबालिकाको भविष्य सुन्दर हुने बताउनुभयो ।

उहाँले समाजमा पछिल्लो समय विभिन्न प्रकारका समस्या देखिन थालेको भन्दै अभिभावक र टोलविकास संस्थाका पदाधिकारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई टोल विकास संस्थाको हरेक बैठकमा समावेश गरी निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कान्तिपुर टोल विकास संस्थाका अध्यक्ष बेदबहादुर खत्रीले अभिभावकीय सचेतना बिना बालबालिका असल हुन नसक्ने बताउनुभयो । अभिभावकको निगरानीले मात्रै बालबालिका सही मार्गमा लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस