२०८२ बैशाख ३० गते मङ्गलवार

शिक्षक अन्दोलन लम्बिने देखेपछि जनप्रतिनिधिले पढाउन थाले


दाङ, १७ वैशाख । शिक्षकहरुको आन्दोलनका कारण सामुदायीक विद्यालयमा पठनपाठन प्रभावित भएपछि तुलसीपुरको एक वडाले कक्षा सञ्चालन गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ ले मंगलबारदेखि विद्यालयमा पठनपाठन सुरु गरेको जनाएको हो ।

विद्यार्थीहरू पढाइबाट बञ्चित हुन थालेपछि वडा अध्यक्षको नेतृत्वमा वैकल्पिक उपायस्वरूप नयाँ शिक्षकहरू परिचालन गरी अध्यापन सुरु गरिएको वडाले जनाएको छ । वडाका जनप्रतिनिधि, वडाका निजामति कर्मचारी, १२ कक्षा पास गरेका विद्यार्थी र स्नातक तह उतिर्ण गरेका विद्यार्थीहरुको सहयोग लिएर पठनपाठन सुरु गरेको वडा अध्यक्ष शंकर कुमार खड्काले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर पर्ने भएकाले अस्थायी रूपमा योग्य जनशक्तिहरू परिचालन गरेर पठनपाठन सुचारु गरेको अध्यक्ष खड्काले बताउनुभयो । आज पहिलो दिन बाल मितेरी माद्यामिक विद्यालय भोजपुर, आधारभुत विद्यालय खौरापुर, नमुना प्राथमिक विद्यालय करङगा र किसान प्राथमिक विद्यालय अकमी मटेरामा पठनपाठन सुरु गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

सामुदायीक विद्यालयका सरकारी शिक्षकहरुले पठनपाठन सुरु नगरेसम्म वडाले अस्थाई शिक्षक परिचालन गरेर कक्षा सञ्चालनलाई निरन्तरता दिने खड्काले जानकारी दिनुभयो ।

साथै उहाँले सम्पूर्ण अभिभावकहरुलाई आफ्‌नो बालबालिकाहरुलाई विद्यालयमा पठाउन अनुरोध गर्नु भएको छ । वडाले चालेको यो अभियानलाई अभिभावक र व्यवस्थापन समितिहरुले पनि सहयोग गरेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस