
दाङ, ३० चैत । नयाँ वर्ष विस २०८२ सालको पावन अवसरमा गुरुकुल एकेडेमी तुलसीपुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा महेन्द्र मावि तुलसीपुरका पूर्व प्रधानाध्यापक बिष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि शर्माले विद्यालयलाई सफलतामा लैजानका लागि नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले गुरुकुल एकेडेमी अब्बल शैक्षिक संस्थाको रुपमा परिचित रहेको बताउँदै आगामी दिनमा शैक्षिक उपलब्धिमा थप प्रगतिको कामना गर्नुभयो । उहाँले बालबालिकाको चौतर्फी विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी(वर्षात)ले गुरुकुलले संस्कारयुक्त जनशक्ति निर्माण गरिरहेको बताउनुभयो । उहाँले वडा नम्बर ६ मा दर्जनबढी निजि शैक्षिक संस्था रहेको बताउँदै गुरुकुलले भौतिक संरचनासंगै शिक्षण सिकाईमा फरक पद्धती अवलम्बन गरी अब्बल देखिएको बताउनुभयो । उहाँले अबको जनशक्ति सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै राप्ती बबई क्याम्पसका पूर्व प्रमुख महेश प्रसाद आचार्यले संस्कारयुक्त जनशक्ति उत्पादनमा गुरुकुल एकेडेमी अब्बल बन्दै गएको बताउनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले दक्ष र नैतिकवान जनशक्ति निर्माणमा गुरुकुल एकेडेमी अब्बल रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक योगेन तामाङले गित प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बासुदेव योगीले गर्नुभएको हो ।